काठमाडौं । नेपाल टेलिकमले ग्राहकको डिजिटल आवश्यकतालाई ध्यानमा राख्दै आगामी असार २६ गतेदेखि लागू हुने गरी ‘मनसुन अफर २०८२’ सार्वजनिक गरेको छ ।
‘ग्राहक सेवामा समर्पित’ नारासहित टेलिकमले यस अफर अन्तर्गत भ्वाइस, डाटा र एसएमएस प्याकेजहरू ल्याउने जनाएको छ । कम्पनीले ग्राहकहरूको सुझाव र सेवाको प्रयोगशैलीलाई मध्यनजर गर्दै प्याकेजहरू तयार पारेको हो ।
विशेषगरी शारीरिक तथा मानसिक रूपमा फरक क्षमता भएका व्यक्तिहरूका लागि बोनससहितका प्याकेजहरू समावेश गरिएका छन् । साथै, सजिलो अनलिमिटेड ६९९ र ७९९ प्याकेजमा ३० प्रतिशत छुट दिइने कम्पनीले जनाएको छ ।
ग्राहकहरूले टेलिकमको मोबाइल एप प्रयोग गरी अफर सम्बन्धी जानकारी लिन र प्याकेज खरिद गर्न सक्नेछन् । विस्तृत विवरण टेलिकमको वेबसाइटमा उपलब्ध हुने प्रवक्ता रविन्द्र मानन्धरद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।