बीमामा रोजगारीको अवसर बढ्दै, एक वर्षमै थपिए साढे ५ सय

काठमाडौं । नेपालको बीमा क्षेत्रको विस्तारसँगै बीमा क्षेत्रले प्रदान गर्दै आइरहेको रोजगारीको संख्यामा पनि वृद्धि हुँदै गइरहेको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार हालसम्म बीमा क्षेत्रमा १२ हजारभन्दा बढी कर्मचारी आबद्ध छन् ।

प्राधिकरणको तथ्यांक अनुसार हाल सञ्चालनमा रहेका ३७ बीमा कम्पनीहरूमा १२ हजार २३४ कर्मचारी आबद्ध छन् । सो संख्या गत आवको तुलनामा ४.८० प्रतिशतले वृद्धि भएको हो । गत आवको यही अवधिमा बीमा कम्पनीमा आबद्ध कर्मचारीको संख्या ११ हजार ६७४ थियो । चालु आव (एक वर्षमा) मात्रै बीमा बजारमा ५६० जना नयाँ कर्मचारी थपिएका छन् ।

पछिल्लो एक दशकको तथ्यांक हेर्ने हो भने बीमा क्षेत्रमा कार्यरत कर्मचारीको संख्या उल्लेखनीय वृद्धि भएको देखिन्छ । नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार आर्थिक वर्ष २०७२/७३ मा बीमा कम्पनीमा काम गर्ने कर्मचारीको संख्या ४ हजार ३६ जना थियो । आव २०८२/८३ मा आइपुग्दा सो संख्या बढेर १२ हजार पुगेको छ । तथ्यांक अनुसार एक दशकमा बीमा कम्पनीमा कार्यरत कर्मचारीको संख्या १९७.४ प्रतिशतले वृद्धि भएको छ ।

आव २०७२/७३ त बीमक कम्पनीहरूको संख्या ४० थियो हाल मर्ज भएर ३७ मा झरेको छ । आव २०७६/७७ मा बीमा कम्पनीमा काम गर्ने प्रत्यक्ष कर्मचारीको संख्या ९ हजार ७५५ थियो । आव २०८०/८१ मा आइपुग्दा सो संख्या बढेर बढेर ११ हजार ७६९ पुगेको छ ।

आव २०७४/७५ सालतिर बीमा क्षेत्रले ७ हजार २०६ जनालाई रोजगारी दिँदै आएकोमा आव २०७५/७६ मा सो संख्या बढेर ९ हजार ४१० पुगेको देखिन्छ । जुन अघिल्लो आवको तुलनामा ३१ प्रतिशतले वृद्धि हो । आव २०७६/७७ मा बीमा कम्पनीमा काम गर्ने कर्मचारीको संख्यामा केही बढेको देखिन्छ । उक्त आवमा बीमकमा कार्यरत कर्मचारीको संख्या ९ हजार ७५५ पुगेको छ ।

आव २०७७/७८ मा बीमा कम्पनीमा कर्मचारीको संख्या बढेर ११ हजार २८ पुगेको छ । आव २०७८/७९ मा बीमा कम्पनीहरूले ११ हजार ९४३ जनालाई प्रत्यक्ष रोजगारी दिएका छन् । बीमा कम्पनीमा निरन्तर वृद्धि हुँदै आएको कर्मचारीको संख्या आव २०७९/८० मा आइपुग्दा घटेको देखिन्छ । उक्त आवमा बीमा कम्पनीमा संलग्न प्रत्यक्ष कर्मचारी ११ हजार ४९६ मा झरेको छ । उक्त आवमा अघिल्लो आवको तुलनामा कर्मचारी संख्या ४.४५ प्रतिशतले घटेको छ ।

सञ्चालनमा रहेका जीवन बीमा, निर्जीवन बीमा र लघु बीमा गरी कुल ३७ बीमा कम्पनीले १२ हजारलाई प्रत्यक्ष रोजगारी प्रदान गर्दै आएको छ । बीमा प्राधिकरणले सार्वजनिक गरेको चालु आव २०८१/८२ को फागुनसम्मको तथ्यांक अनुसार १२ हजार ९५ जनाले प्रत्यक्ष रोजगारी पाएको देखिन्छ । गत आवको तुलनामा यस चालु आवमा बीमा कम्पनीमा ५४० नयाँ कर्मचारी थपिएका छन् । गत आवको सोही अवधिमा ११ हजार ५५५ जना कर्मचारी थिए ।null
 
माथि प्रस्तुत तथ्यांक बीमा बजारमा प्रत्यक्ष रोजगारी पाएका कर्मचारीहरू हुन् । अप्रत्यक्ष रुपमा बीमा कम्पनीहरूले यतिलाई रोजगार दिएको छ भन्ने एकिन तथ्यांक नभएपनि हजारौँलाई रोजगारी प्रदान गर्दै आइरहेको छ । तथ्यांक नै हेर्ने हो भने २०८०/८१ को तथ्यांक अनुसार ३ लाख २९ हजार ५७२ जनाले बीमा कम्पनीहरूमा र बीमा अभिकर्ताको रुपमा अप्रत्यक्ष काम गर्दै आएका छन् भने १ हजार २४८ बीमा सर्भेयरले रोजगारी पाएका छन् । 

Share News