९ महिनामा कैलाश हेलिकप्टरको आम्दानी साढे ५३ करोड रुपैयाँ

काठमाडौं । कैलाश हेलिकप्टर सर्भिसेज प्रालिले ९ महिनामा साढे ५३ करोड रुपैयाँ आम्दानी गरेको छ । कम्पनीले चालु आर्थिक वर्ष २०८१/८२ को ९ महिना (सन् २०२५) मा ५३ करोड ५० लाख रुपैयाँ बराबरको सञ्चालन आम्दानी गरेको हो । 

अघिल्लो वर्षको तुलनामा गत वर्ष कम्पनीको आम्दानी समेत वृद्धि भएको छ । कम्पनीले सन् २०२४ मा ७९ करोड ४० लाख रुपैयाँ, सन् २०२३ मा ७० करोड २० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । 

यस्तै, सन् २०२२ मा ४० करोड ४० लाख रुपैयाँ र सन् २०२१ मा ३२ करोड १० लाख रुपैयाँ बराबरको कारोबार गरेको थियो । 

कम्पनीले प्रत्येक वर्ष आम्दानी बढाउँदै लगेको छ । कम्पनीको आम्दानीमा वृद्धि भएसँगै गत आर्थिक वर्ष २०८०÷८१ को नाफाबाट लागि चुक्ता पुँजीको करसहित २० प्रतिशत नगद लाभांश वितरण गरेको थियो । 

सन् २०१७ मा स्थापित कैलाश हेलिकप्टर जुलाई २०२३ मा पब्लिक कम्पनीमा रुपान्तरण भएको थियो । कम्पनीले ३ वटा एयरबस हेलिकप्टरमा मार्फत चार्टर्ड उडान, उद्धार कार्य, स्लिङ अपरेशन, साहसिक भ्रमण (एभरेस्ट बेस क्याम्प र अन्नपूर्ण बेस क्याम्प) जस्ता सेवा दिँदै आएको छ । 

३१ करोड ५० लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीमा विभिन्न ७ जना लगानीकर्ता रहेका छन् । कम्पनीको अध्यक्ष क्याप्टेन आशिष शेरचन छन् भने प्रबन्ध निर्देशक प्रताप जंग पाण्डेय रहेका छन् । कम्पनीको सञ्चालकमा सुनिल श्रेष्ठ, रमेश पण्डित, श्रीराम केसी र इस्वरी पौडल रहेका छन् । 

रेटिङ कम्पनी इक्रा नेपालले कम्पनीलाई त्रीपल बी रेटिङ प्रदान गरेको छ । जसले वित्तीय दायित्वमा सन्दर्भमा मध्यम स्तरको सुरक्षा भएको मानिन्छ ।

Share News