अरु देशको भन्दा त्रिभुवन विमानस्थल साँघुरो छ, यात्रु छिटो आइपुग्छन्, सामान आउन ढिलो हुन्छ : मन्त्री पाण्डे

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षेत्र साँघुरो भएको बताएका छन् । विमानस्थलको क्षेत्र साँघुरो हुँदा विमानस्थल, टर्मिनल भवन नजिक नजिक रहेकाले मानिसहरु छिटै टर्मिनल भवनमाआइपुग्ने र लगेज ल्याउन धेरै समय लागेको जस्तो देखिने गरेको बताएका हुन् । 

उनले अरु देशमा जहाँजबाट उत्रिएर आउन नै समय लाग्ने र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सानो हुँदा तुरुन्तै आइहाल्ने कारण धेरै समय कुर्नुपरेको जस्तो देखिएको बताए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता ४५ लाख यात्रुलाई ओहोरदोहोर गराउने रहेको तर यस वर्ष ९५ लाख यात्रुहरु ओहोरदोहोर गराइसकेको बताए । छरितो र प्रभावकारी बनाउने कुरामा सरकार गम्भीर रहेको जानकारी दिए । 

मन्त्री पाण्डेले भने, ‘हाम्रो एयरपोर्ट, हाम्रो टर्मिनल सबै साँघुरो अवस्थामा छ । नजिक नजिक छ । अरु देशका र हाम्रो के फरक होला भनेर हेरेको अरु देशमा एउटा मान्छे एउटा प्लेनबाट उत्रिएर लगेज लिने ठाउँसम्म आइपुग्न नै निकै समय लाग्छ । हाम्रो जोडिएको छ नजिकै छ, मान्छे तुरुन्तै आइपुग्छ । एउटा हाम्रो स्पेसको सीमाको कारण हो । यसले ४५ लाख यात्रुलाई ओहोरदोहोर गराउने क्षमता राख्छ हाम्रो एयरपोर्ट टिआइएले । तर यस पटक ९५ लाख यात्रुहरु ओहोरदोहोर गरेका छन् ।’

मन्त्री पाण्डेले मान सरोवर जाने पर्यटकहरुका लागि चिनियाँ दुतातावासले भेरिफिकेसन गर्ने भनेर पूर्वसूचना बिनै नयाँ नियम ल्याइएका कारण समस्या आएको जानकारी दिए । चिनियाँ दुतावाससँग यसबारेमा सरकारले ध्यानाकर्षण गराएको बताए । 

Share News