काठमाडौं । नेपालको सबैभन्दा ठूलो अटोमोबाइल प्रदर्शनी ‘नाडा अटो शो २०२५’ आगामी भदौ ३ देखि ८ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने भएको छ ।
शोका लागि आवश्यक पर्ने स्टल बाँडफाँटको काम सम्पन्न भएसँगै यसको औपचारिक तयारी सुरु भएको नाडा अटोमोबाइल्स एसोसिएसन अफ नाडाले जनाएको छ ।
स्टल बाँडफाँट कार्यक्रममा चारपाङ्ग्रे, दुईपाङ्ग्रे, व्यावसायिक सवारी तथा अटो सामग्री र उपकरणका क्षेत्रबाट उल्लेखनीय सहभागिता रहेको नाडाले जानकारी दिएको छ ।
यस वर्षको प्रदर्शनीमा प्रविधि, नवप्रवर्तन र दिगोपनालाई विशेष प्राथमिकतामा राखेको नाडाले दावी गरेको छ।
नाडाका अनुसार चारपाङ्ग्रे सवारीतर्फ १८, हल्का व्यावसायिक सवारीतर्फ १३, दुईपाङ्ग्रेतर्फ ४ तथा सामग्री र उपकरणतर्फ ४० भन्दा बढी ब्राण्डहरूको सहभागिता रहनेछ ।
चारपाङ्ग्रे (१८ स्टल) डीपल, अवटार, डोङ्फेङ, सेरेस, टाटा, सुजुकी, टेस्ला, आयन भी, एक्सपेङ, रिड्डारा, स्काइवेल, बीवाइडी, फोटोन, बीएडब्ल्यू ब्रम्बी, जेवाई एयर, हाभाल, एलएस अटो र जिनपेङ प्रर्दशनीमा राखिनेछन् ।
दुईपाङ्ग्रेतर्फ हिरो, रोयल इनफिल्ड, जोन्सन र यामाहा प्रदर्शनीमा रहने नाडाले जनाएको छ ।
हल्का व्यावसायिक सवारी (१३ स्टल) न्यु गोनाओ, डिएफएसके, डोङफेङ, कामा, फोटोन, सोकन, सीजी केवाईसीरकिङलङ, मोन्ट्रा, स्काइवर्थ, कैनिउ, कावेईरनावेको र सनलङको सहभागीता रहनेछ ।
सामग्री तथा उपकरण (४० स्टल) एसियन, गल्फ, डकह्याम्स, म्याक्सशाइन, मिश्लिन, लिक्वी मोली, सिएट टायर, जेकेरगुड टायर, टाटा ग्रीन, टोटल एनर्जिज, स्टड्सरएसएमके लगायतका प्रमुख ब्राण्डहरू रहेका छन् ।
यसपटकको अटो शोमा केही नयाँ आकर्षणहरू पनि थपिने नाडाले बताएको छ । ‘मेड इन नेपाल’ पेभिलियन, पुराना गाडीहरूको प्रदर्शनी (भिन्टेज कार पेभिलियन) र अटो क्षेत्रका विविध विषयमा छलफल गरिने ‘अटो डाइलग्स क्याफे’ प्रमुख आकर्षणका रूपमा रहनेछन् ।
सन् १९९८ देखि आयोजना हुँदै आएको नाडा अटो शो नेपाली अटोमोटिभ क्षेत्रको सबैभन्दा प्रतिष्ठित प्रदर्शनी मानिन्छ । यस वर्षको प्रदर्शनीलाई एमएडब्लू समूहले प्रायोजन गरेको छ ।