राजस्वमा ४० प्रतिशत सवारीकरको योगदान

रसुवा । भन्सार शुल्कको कुल आयमध्ये चालीस प्रतिशत राजस्व चिनियाँ सवारी साधनले ओगटेको छ ।

आर्थिक वर्ष २०८१/८२ को साउनदेखि यही असार १७ गतेसम्मको राजस्व असुली विश्लेषणका आधारमा करिब ४० प्रतिशत हिस्सा सवारी साधन करबाट मात्र प्राप्त भएको भन्सार कार्यालयले जनाएको छ ।

प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराईका अनुसार चालू आवको यस अवधिमा २९ अर्ब ६५करोड ९३ लाख रुपैयाँ असुली भएको छ भने गत वर्षको साही अवधिमा २० अर्ब २१ करोड रुपैयाँ मात्र राजस्व संकलन भएको थियो ।

रसुवागढी नाकाबाट विशेषगरी जुत्ता–चप्पल, तयारी पोशाक, र नेपालमा सञ्चालित जलविद्युत् आयोजनाका सामग्री आयात हुने गरेको भन्सार कार्यालयले जनाएको छ ।

चालुआवको यस अवधिमा साना ठूला गरी छ हजार ५०० भन्दा बढी सवाारी साधन आयात भइसकेको र चीनतर्फ तीन अर्ब रुपैयाँभन्दा बढीको सामग्री निर्यात भएको  भन्सार कार्यालयले स्पष्ट गरेको छ । भन्सार शुल्क बुझाए पनि कतिपय आयातकर्ताले सवारी साधन अहिलेसम्म नलगिदिँदा भन्सार कार्यालयको हातभित्र लामबद्धरुपमा थन्क्याएर राखिएका छन् । 

ठूलो लगानी गरी छिमेकी मित्रराष्ट्र चीनतर्फबाट आयात गरिएका ती सवारी साधन समयमै लगिदिन भन्सार कार्यालयले सम्बद्ध व्यवसायीसँग अनुरोध गरेको छ । यसअघिजस्तै वर्षा लागेसँगै सम्भावित बाढीपहिराका कारण रसुवागढी नाका आसपासका वस्ती जोखिमको अवस्थामा रहेको स्थानीयबासीको भनाइ छ ।
 

Share News