काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री बद्री प्रसाद पाण्डेले नेपाल एयरलाइन्समा जहाज थप गर्ने विषय प्राथमिकताका साथ अघि बढेको जानकारी दिएका छन् । राष्ट्रिय सभामा जवाफ दिँदै उनले नेपाल एयरलाइन्सलाई प्रतिस्पर्धी र व्यावसायिक संस्थामा रूपान्तरण गर्न व्यवस्थापन सुधारको कामसमेत प्राथमिकताका साथ अघि बढेको समेत बताए ।
‘नेपाल एयरलाइन्समा अन्तर्राष्ट्रिय तथा आन्तरिक उडानका लागि अन्तर्राष्ट्रिय लिज तथा प्रदेशसँगको सहकार्यमा पारदर्शी र खुला प्रक्रियाद्वारा जहाजहरू थप गर्न आवश्यक प्रक्रिया अघि बढाइएको छ,’ मन्त्री पाण्डेले भने ।
मन्त्री पाण्डेले देशभरका विभिन्न विमानस्थलको अवस्थाबारे सभालाई जानकारी दिए । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा क्रमशः अन्तर्राष्ट्रिय उडानको सङ्ख्या वृद्धि भइरहेको र आन्तरिक उडान सङ्ख्यामा समेत उल्लेख्य वृद्धि भएको उनको भनाइ छ ।
‘दाङको टरीगाउँ विमानस्थलको स्तरोन्नति तथा विकासका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणबाट आवश्यक अध्ययन तथा पूर्वतयारी भइरहेको छ,’ मन्त्री पाण्डले भने, ‘निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण तथा सञ्चालन ढाँचा स्पष्ट गरी कार्य अघि बढाइने छ ।’
यस्तै, सुर्खेत विमानस्थलको स्तरोन्नति तथा विस्तारका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणबाट आवश्यक अध्ययन तथा पूर्वतयारी भइरहेको उनले जानकारी दिए । त्यसका लागि प्राधिकरणमार्फत आवश्यक बजेट परिचालन भई कार्य अघि बढ्ने समेत मन्त्री पाण्डेको भनाइ छ ।
यसैगरी उनले सबै धर्मावलम्बीका आस्थाका प्रतीकको संरक्षण र सम्भारमा उचित ध्यान दिने प्रतिबद्धता व्यक्त गरे । वृहत्तर लुम्बिनी गुरु योजना अनुरूपका कार्यहरू सम्पन्न गर्न मन्त्रालय र कोषको सहकार्यमा कार्य भइरहेको मन्त्री पाण्डेले जानकारी दिए ।
सगरमाथा हेरिटेज ट्रेलमा बजेट विनियोजन भई निरन्तर कार्य भइरहेको जानकारी दिँदै उनले दोलखा पद मार्ग, मन्दिर तथा गुम्बाहरूको संरक्षणलगायत पूर्वाधारमा बजेट विनियोजन भएको उनले जानकारी गराए ।
पर्यटकीय गन्तव्यलाई गुणस्तरीय र आकर्षक बनाउन ३ करोड रुपैयाँमाथिका योजनालाई प्राथमिकता दिई कार्यान्वयनमा लगिने समेत मन्त्री पाण्डेको भनाइ छ ।
यस्तै, कैलालीको गौरीफन्टा लगायत सबै नाकाबाट आउने पर्यटकीय सेवाका सवारीसाधनलाई सहज आगमनको व्यवस्था मिलाउन गृह मन्त्रालय र अर्थ मन्त्रालयलगायत निकायसँगको समन्वयमा काम भइरहेको उनले सभालाई जानकारी दिए ।
‘यसका साथै सबै धार्मिक तथा पर्यटकीय क्षेत्रहरूको संरक्षण र प्रवर्द्धनमा स्थानीय तह, प्रदेश, सङ्घीय सरकार र निजी क्षेत्रको सहकार्यलाई प्राथमिकताका साथ पालना गर्न हामी प्रतिबद्ध छौँ,’ मन्त्री पाण्डेले भने, ‘होटल तथा रिसोर्टलाई उद्योगको क्षेत्रमा वर्गीकृत गरी यसमा लगानी, रोजगारीजस्ता अर्थतन्त्रका महत्त्वपूर्ण क्षेत्रमा योगदान अभिवृद्धि गर्ने गरी राज्यबाट नीतिगत व्यवस्था भएको छ ।’
यस्तै, नेपाल पर्यटन बोर्ड, मन्त्रालय, निजी क्षेत्र, कूटनीतिक नियोग तथा नेपालीहरूको ‘डायस्पोरा’मार्फत पर्यटन प्रवर्द्धनका काम भइरहेको उनको भनाए छ ।