काठमाडौं । उपभोक्तालाई गुणस्तरीय पिउने पानी उपलब्ध गराउने उद्देश्यले काठमाडौं महानगरपालिकाले गरेको अनुगमनमा मापदण्ड नपुगेका ४४ वटा जार फेला पारेको छ ।
महानगरको कृषि तथा पशुपन्छी विभागले गोङ्गबु बसपार्क क्षेत्र वरपर प्रशोधित पानी बोक्ने २८ वटा सवारी साधनको निरीक्षण गर्दा कुच्चिएका, फुटेका र अपारदर्शी जार प्रयोग भइरहेको पाइएको हो । यी जारहरू जफत गरी नष्ट गर्न महानगर प्रहरी बललाई जिम्मा दिइएको छ ।
त्यसैगरी, अनुगमनका क्रममा त्रुटि देखिएका पानी व्यवसायीलाई मापदण्ड विपरीतका जार वितरण नगर्न, जारमा स्पष्ट विवरणसहितको लेबल राख्न, र बिल बिजकसहित कारोबार गर्न कडाइका साथ निर्देशन दिइएको महानगरले जनाएको छ ।
जनस्वास्थ्यलाई जोखिममा पार्ने पानीजन्य संक्रमण रोक्न यस विषयमा संवेदनशील बन्न पनि आग्रह गरिएको छ ।