हुवावे 'सिड्स फर द फ्युचर' मा चीन जाने ५ नेपाली विद्यार्थी छनोट

काठमाडौं । हुवावे नेपालले 'सिड्स फर द फ्युचर २०२५' कार्यक्रमका लागि नेपालबाट चीनमा आयोजना हुने क्षेत्रीय प्रतिस्पर्धामा सहभागी हुन शीर्ष पाँच नेपाली विद्यार्थीको छनोट गरेको छ ।

चीनको अगस्ट २०२५ मा हुने कार्यक्रममा प्रतिनिधित्व गर्ने यी पाँच जना आदर्श श्रेष्ठ, अपला तिमिल्सिना, दिनानाथ पाध्य, मंजिला पाण्डे र स्तुति ढुंगाना हुन् ।

यस वर्ष नेपालभरका ६५० भन्दा बढी विद्यार्थीको सहभागिताबाट छनोट प्रक्रियामा ३० जनालाई छोटो सूचीमा राखी विभिन्न प्राविधिक तालिम, कार्यशाला, र सांस्कृतिक आदानप्रदान गराइएको थियो ।

विद्यार्थीहरूले तालिमका क्रममा ५जी, एआई, क्लाउड कम्प्युटिङ, क्लिन इनर्जी लगायत डिजिटल प्रविधिको ज्ञान लिनका साथै काठमाडौंस्थित अत्याधुनिक डेटा सेन्टर र चीन सांस्कृतिक केन्द्र भ्रमण गरी अन्तरदेशीय सहकार्यको अनुभव समेत सँगालेका छन् ।

अन्तिम चरणको अन्तर्वार्तामा उनीहरूको नेतृत्व क्षमता, सञ्चार कला, सिर्जनात्मकता, विश्व जागरुकता र दिगो विकास लक्ष्यसँग मेल खाने दृष्टिकोणका आधारमा मूल्याङ्कन गरिएको थियो ।

Share News