नेपाल एयरलाइन्स ६७ वर्षमा : बजारमा खस्कँदो उपस्थिति, ५० अर्ब रुपैयाँ पुग्यो ऋण

काठमाडौं । राष्ट्रिय ध्वजा वाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले ६७ वर्षे यात्रा सुरु गरेको छ । सन् १९५८ जुलाई १ मा स्थापना भएको निगमले २८ सिट क्षमतायुक्त डोग्लस डिसी ३ डाकोटाबाट सेवा प्रारम्भ गरी ६७ वर्षे दौरानमा पछिल्लो पटक वाइडबडी ए ३३०-२०० सिरिजको विमान भित्र्याएर सेवा दिइरहेको छ ।

निगमले हाल अन्तर्राष्ट्रियतर्फ भारतको नयाँ दिल्ली, बेङ्लोर र मुम्बई तथा हङकङ, मलेसिया, थाइल्याण्ड, जापानको नारिता, कतारको दोहा, युनाइटेड अरब इमिरेट्स दुबई र साउँदी अरबको रियादमा उडान भर्दै आएको छ । निगमले दुई थान वाइड बडी ए ३३० र दुई थान न्यारो बडी ए ३२० सिरिजका विमानमार्फत अन्तर्राष्ट्रिय उडान गरिरहेको छ ।

आन्तरिकतर्फ दुर्गम भेगका विमानस्थलमा निगमले सेवा दिइरहेको छ । निगमसँग आन्तरिक उडानका लागि दुई थान ट्वीनअटर विमान छन् । विमान अभावले आन्तरिक बजारमा निगमको खस्कँदो उपस्थिति छ ।

निगमले विगत वर्षमा औपचारिक समारोह आयोजना गरेर वार्षिकोत्सव मनाउँदै आएकामा पछिल्ला वर्षमा सामान्य कार्यक्रम मात्र गर्दै आएको छ । स्थापनाको ६७ वर्षको इतिहास बोकेको निगमले आफ्नो बजार हिस्सामा भने उल्लेख्य सुधार गर्न सकेको छैन । निगमको ऋण दायित्व करिब ५० अर्ब रुपैयाँ पुगेको जनाइएको छ ।

वाइड बडी विमान खरिद गर्न कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोषबाट निगमले ऋण लिएको थियो । भएका विमान पनि राम्ररी सञ्चालन नहुनु, बजेट एयरलाइन्ससँगको प्रतिस्पर्धालगायत कारणले खस्केको निगमको साख अहिले उत्कृष्ट ग्राउण्ड ह्याण्डलिङ सेवा, अन्तराष्ट्रिय गन्तव्यमा व्यापार प्रवर्द्धनले उकासिएको छ ।

निगमको विद्यमान अवस्थाको सुधारका लागि पटकपटक अध्ययन समिति बने पनि तिनको कार्यान्वयन हुन सकेको छैन । निगमको व्यवस्थापकीय सुधारका लागि तालुकदार मन्त्रालयले विभिन्न योजना सार्वजनिक गरे पनि त्यसको व्यावहारिक कार्यान्वयन हुन सकेको छैन ।

निगमका प्रवक्ता सुवास डाँगीले निगमले अन्तर्राष्ट्रिय गन्तव्यमा भएका चारवटै वाइड बडी विमान पूर्ण क्षमतामा सञ्चालन भइरहेको दाबी गरे। आन्तरिक बजारमा विमानको सङ्ख्या कम भएकाले सबै गन्तव्यमा सेवा विस्तार गर्न नसकिएको उनले बताए । अन्तर्राष्ट्रियतर्फ थप नयाँ गन्तव्यमा उडान सेवा विस्तारका लागि पहल भइरहेको प्रवक्ता डाँगीले जानकारी दिए ।

Share News