काठमाडौं । डिशहोमको रमाइलो टिभीले धार्मिक टेलिभिजन श्रृंखला रामायण नेपाली भाषामा प्रसारण गर्ने भएको छ । असार १९ गतेदेखि हरेक बिहीबार र शुक्रबार बेलुका ८ बजे उक्त श्रृंखला प्रशारण हुने कम्पनीले जनाएको छ ।
‘रामायण’ भारतीय संस्कृत महाकाव्य रामायणमा आधारित टेलिभिजन श्रृंखला हो, जसलाई निर्माता, निर्देशक तथा लेखक रामानन्द सागरले निर्माण गरेका थिए । यो सिरिज पहिलो पटक सन् १९८७–१९८८ मा भारतको डीडी नेसनल च्यानलबाट प्रसारित भएको थियो । आशोक कुमार र रामानन्द सागरद्वारा प्रस्तुत यो श्रृंखलामा संगीत रविन्द्र जैनले संयोजन गरेका थिए ।
प्रसारणको समयमा रामायण ले भारतमा ८२ प्रतिशत दर्शक संख्यासहित ऐतिहासिक कीर्तिमान बनाएको थियो । बीबीसीका अनुसार, यो श्रृंखला ६५ करोडभन्दा बढी दर्शकद्वारा हेरिएको थियो र विश्वका १७ देशका २० भन्दा बढी च्यानलहरूले पुनः प्रसारण गरेका थिए । कोरोना लकडाउनको समयमा सन् २०२० मा पुनः प्रसारण हुँदा एकै दिन ७ करोड ७० लाख दर्शकसहित विश्वकै सबैभन्दा धेरै हेरिएको टेलिभिजन कार्यक्रम बन्न सफल भएको थियो ।

डिशहोमले आफ्ना ग्राहकका लागि रमाइलो टिभीमार्फत यो ऐतिहासिक कथा नेपाली भाषामा प्रसारण गर्ने व्यवस्था गरेको हो । हाल रमाइलो टिभी डिशहोमका ग्राहकहरूको लागि मात्र उपलब्ध रहेको र ग्राहकहरूले यसका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद र अन्य मनोरञ्जन कार्यक्रम पनि रमाइलो टिभीबाट हेर्न सक्ने डिशहोमले जनाएको छ ।