काठमाडौं । मुलुकको हवाई क्षेत्रलाई व्यवस्थित र सुरक्षित तुल्याउन संस्थागत संरचना सुधारेर सेवालाई चुस्त बनाइनुपर्नेमा विज्ञ एवं सरोकारवालाहरुले जोड दिएका छन् । हालको अवस्थामा नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)लाई विभाजन भन्दा पनि संस्थागत सुधारको खाँचो रहेको उनीहरुले औंल्याए ।
प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा नेपाल सरकारका पूर्व सचिव किशोर थापाले क्यानको संरचनागत सुधार गरेर जानुपर्ने खाँचो औंल्याए । फ्रान्सलगायत विश्वका अन्य मुलुकमा पनि ‘अथ्योरिटी बडी‘ एउटै रहेको उदाहरण प्रस्तुत गर्दै नेपालको सन्दर्भमा दुई अलग निकाय बनाउन जरुरी नरहेको बताए ।
पूर्व सचिव थापाले भने, ‘अलग-अलग दुइवटा प्राधिकरण गठन नगरौँ । हालको प्राधिकरणलाई अझ व्यवस्थित गरौँ । पर्यटन मन्त्रालयको महाशाखालाई बलियो बनाऔँ । हवाई विभागको संरचना बनाएर अगाडि बढ्न सकिन्छ, त्यसैले हतारमा विधेयक पारित गराउनतर्फ नलागौँ ।’
नेपाल हवाई सेवा प्राधिकरण विधेयकमा गैर सैनिक हवाई उडान ऐन, २०१५ को प्रावधान केही पनि उल्लेख नगरेर त्रुटी गरेको उनले दाबी गरे ।
क्यानका पूर्व महानिर्देशक रतिश चन्द्रलाल सुमनले अलग-अलग निकाय बनाउँदैमा हवाई सुरक्षा प्रणालीमा सुधार आउन नसक्ने जिकिर गरे । उनले क्यान सेवा प्रदायकमा बढी केन्द्रित भएको र नियामकीय काममा ध्यान नदिएकाले हवाई सुरक्षा अभिवृद्धि हुन नसकेको उल्लेख गरे ।
‘सुरक्षामा जति बजेट हुनुपर्ने हो त्यो छैन । विमानस्थल सेवामा नाफा मात्रै हेरेर हुँदैन हवाई सुरक्षामा पनि लगानी बढाउनुपर्छ,’ उनले भने ।
विस २०८१ माघ १९ गते प्रतिनिधिसभामा नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ दर्ता भएको थियो ।
संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री बद्री प्रसाद पाण्डेले समितिका सदस्यहरूले हवाई सुरक्षालाई राम्रो बनाउन के कस्ता उपायहरू अवलम्बन गर्न सकिन्छ भनेर विज्ञहरुसँग जिज्ञासा राखे ।
समितिका सभापति राज किशोर यादवले मुलुकको हवाई सेवालाई व्यवस्थित र सुरक्षित बनाउन के कस्ता उपायहरू अपनाउन सकिन्छ र प्रस्तावित नेपाल हवाई सेवा प्राधिकरण विधेयकमा समेट्नुपर्ने विषयबारे विज्ञहरुबाट राय सुझावका लागि बैठकमा छलफल गरिएको जानकारी दिए ।
समितिले हवाई सेवा प्राधिकरण विधेयकमाथि विज्ञहरुबाट सुझाव लिएको हो । विज्ञहरुले विधेयकका प्रावधान र समेट्नुपर्ने विषयमा समितिलाई प्रस्तुतीकरण दिएका थिए ।