काठमाडौं । संसारभर विद्युत सवारीसाधन (ईभी) को संख्या तीव्र गतिमा बढेसँगै लिथियमको प्रयोग पनि बढिरहेको छ । विशेषगरी लिथियमको प्रयोग ब्याट्री निर्माणमा गरिन्छ ।
हाल अधिकांश लिथियमको उत्पादन अष्ट्रेलिया र चीनमा ‘हार्ड रक माइनिङ’ प्रविधिबाट गरिन्छ । अष्ट्रेलियामा सबैभन्दा बढी ४९ प्रतिशत लिथियम उत्पादन हुन्छ भने चीनमा १७ प्रतिशत उत्पादन हुन्छ । बाँकी लिथियम चिली र अर्जेन्टिनामा ‘ब्राइन’ (खनिजयुक्त नुनिलो पानी) प्रविधिबाट उत्पादन गरिन्छ । तर, आउँदो समयमा यो तरिका परिवर्तन हुनसक्छ ।
हाल ल्याटिन अमेरिका विश्व ऊर्जा रूपान्तरणको केन्द्रको रूपमा उदाउँदैछ, जहाँ विश्वको आधाभन्दा बढी लिथियम भण्डार रहेको छ । लिथियमलाई अहिले ‘नयाँ तेल’ भनिन्छ किनभने यो इलेक्ट्रिक सवारीसाधन र स्वच्छ प्रविधिका लागि अत्यन्तै आवश्यक मानिन्छ । विश्वभर अत्यधिक माग भएकै कारण यसलाई ‘ह्वाइट गोल्ड’ अर्थात् सेतो सुन पनि भन्ने गरिन्छ ।
दक्षिण अमेरिकाको ठूलो हिस्सा
अमेरिकी भूगर्भीय सर्वेक्षण (यूएस जिओलोजिकल सर्भे) का अनुसार दक्षिण अमेरिकी देशहरू बोलीविया, अर्जेन्टिना र चिलीले विश्वको सबैभन्दा ठूलो लिथियम भण्डारको हिस्सा ओगटेका छन् । बोलीवियामा अनुमानित २३ मिलियन मेट्रिक टन लिथियम रहेको छ भने अर्जेन्टिनामा पनि लगभग २३ मिलियन टन र चिलीमा ११ मिलियन टन लिथियमको भण्डार रहेको छ । यी तीन देश अहिले स्वच्छ ऊर्जा आपूर्ति श्रृंखला र स्रोत सुरक्षाका विषयमा विश्वव्यापी छलफलको केन्द्र बनेका छन् ।
संसार जीवाश्म इन्धन (पेट्रोल, डिजेल आदि) को सट्टा ब्याट्रीको विकल्पतर्फ बढ्दै जाँदा भूराजनीतिक ध्यान पनि अब तेल धनी मिडिल इस्टबाट लिथियम धनी देशहरूतर्फ सरेको देखिन्छ । अन्य प्रमुख लिथियम भण्डार भएका देशहरूमा अमेरिका (१९ मिलियन टन), अष्ट्रेलिया (९ मिलियन टन) र चीन (६.८ मिलियन टन) रहेका छन् ।
मूल्य कति ?
लिथियम संसारकै सबैभन्दा नरम र हल्का धातुहरूमध्ये एक हो । यो धातु यति नरम हुन्छ कि चक्कुले सजिलै काट्न सकिन्छ र यो पानीमा पनि तैरन सक्छ । यसको विशेषता भनेको यो रासायनिक ऊर्जालाई विद्युतीय ऊर्जामा रूपान्तरण गर्न सक्ने क्षमता हो ।
हाल यसको प्रयोग स्मार्टफोनको ब्याट्रीदेखि लिएर ब्याट्रीले चल्ने लगभग सबै उपकरणमा भइरहेको छ । यही कारणले गर्दा लिथियमको विश्वव्यापी माग निकै उच्च छ । अन्तर्राष्ट्रिय बजारमा एक टन लिथियमको मूल्य १ करोड रुपैयाँसम्म पर्न सक्छ । विश्व बैंकको एक प्रतिवेदनअनुसार सन् २०५० सम्म विश्वभर लिथियमको माग ५०० प्रतिशतले बढ्नेछ ।
आगामी सम्भावना र चुनौतीहरू
विश्वभर लिथियमको माग आकाशिँदै जाँदा यसले वातावरणीय, सामाजिक र राजनीतिक चुनौतीहरू पनि ल्याउने देखिन्छ । ब्राइन प्रविधिबाट लिथियम निकाल्दा जलस्रोतमा असर पर्न सक्छ भने हार्ड रक माइनिङले पारिस्थितिक प्रणालीलाई क्षति पुर्याउन सक्छ ।
दोस्रो तर्फ लिथियममा निर्भरता बढेसँगै यसको पुनः प्रयोग र वैकल्पिक ब्याट्री प्रविधिमा लगानीको आवश्यकता पनि तीव्र भएको छ । केही वैज्ञानिक समूहहरू ‘सोडियम-आयन’, ‘सोलिड-स्टेट वा ‘हाइड्रोजन सेल जस्ता नयाँ प्रविधिमा अनुसन्धानरत छन् जसले भविष्यमा लिथियममाथिको निर्भरता घटाउन सक्ने सम्भावना छ ।
लिथियम धातु मात्र नभइ अब अब ऊर्जा सुरक्षा, अन्तर्राष्ट्रिय सम्बन्ध र प्रविधिको अग्रगामी प्रतिस्पर्धाको केन्द्र बन्दै गएको छ ।