काठमाडौं । युएनडीपीको सहकार्यमा निक्षेप तथा कर्जा सुरक्षण कोषले आयोजना गरेको 'एग्री सीजीएस प्रोडक्ट्स डिजाइन स्टेकहोल्डर्स फिडब्याक' विषयक आधा दिने अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ ।
काठमाडौंको रोयल सिङ्गी होटलमा सम्पन्न कार्यक्रममा कोषका पदाधिकारी, विभिन्न बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत, कर्जा विभागका विभागीय प्रमुखलगायतका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
अर्थतन्त्रको दिगो विकासका लागि कृषि क्षेत्रमा संस्थागत कर्जाको पहुँच विस्तार गर्न र सो क्षेत्रमा प्रवाह हुने कर्जाको जोखिम न्यूनीकरण गरी लगानी बढाउन नयाँ कृषि कर्जा सुरक्षण योजना तर्जुमा गर्ने विषयमा सरोकारवालाको राय–सुझाव लिन यो अन्तर्क्रिया आयोजना गरिएको हो ।
कोषका प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरेले कार्यक्रममा प्रस्तावित कृषि कर्जा सुरक्षण योजनाका बारेमा कार्यपत्र प्रस्तुत गर्दै, वर्तमान अवस्था र तत्काल विस्तार गर्नुपर्ने क्षेत्रबारे जानकारी गराएका थिए ।
सहभागीहरुले सुरक्षण शुल्क र क्षतिपूर्ति दाबीको प्रतिशत निर्धारण अन्तर्राष्ट्रिय असल अभ्यासअनुसार वैज्ञानिक रुपमा गर्नुपर्ने सुझावसमेत दिएका थिए ।
कृषि क्षेत्रमा संस्थागत कर्जा प्रवाह बढाउँदै वित्तीय पहुँच विस्तारमा सघाउन युएनडीपीले प्राविधिक सहयोग गरिरहेको कोषले जनाएको छ ।