काठमाडौं । सामुदायिक विद्यालयका शिक्षक नेताहरू सिंहदरबार पुगेका छन् । आइतबार असार १५ गते सरकारसँग भएको सहमति अनुसार विद्यालय शिक्षा विधेयक पारित हुनुपर्ने दिन भएकाले सरकारलाई दबाब दिन नेताहरू बिहानै सिंहदरबार पुगेका हुन् ।
‘हामी बिहान ७ बजे सिंहदरबार पुगेका थियौं, मुख्य मुख्य केही व्यक्तिहरूलाई भेट्यौँ, विधेयक आज जसरी पनि संसदमा प्रस्तुत हुनुपर्छ भनेका छौं,’ शिक्षक महासंघका महासचिव तुला बहादुर थापाले भने ।
विद्यालय शिक्षा विधेयक पारित हुनुपर्ने भन्दै दबाब दिन संसदीय समितिको ढोकामै शिक्षकहरू पुगेको र अहिले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधिको समिति बैठक बसेकाले आफूहरू बाहिर निस्केको उनको भनाइ छ ।
थापाका अनुसार विभागीय कारवाही, अस्थायी शिक्षकहरूका लागि कस्तो व्यवस्था गर्ने र शिक्षक हुन लाइसेन्स अनिवार्य गर्ने कि नगर्ने भन्ने विषयमा समितिमा सहमति हुन बाँकी छ ।
२०७५ सालदेखि छलफलमा रहेको विधेयक पारित नहुँदा समग्र शिक्षा प्रणाली नै अस्त व्यस्त बनेको भन्दै शिक्षक महासंघले पटक पटक आन्दोलन गर्दै आएको थियो ।
गएको चैत्रमा काठमाडौंमा भएको सडक प्रदर्शनपछि शिक्षक र सरकारबीच असार १५ गते विद्यालय शिक्षा विधेयक संसदमा प्रस्तुत गर्ने सहमति भएको थियो ।