काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान राजुकाजी शाक्य र नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरूणा शाही सम्मानित भएका छन् ।
शरदचन्द्र शाह स्मृति फाउन्डेसनले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा शाक्य र शाहीलाई एससीएसएमएफ स्पोट्र्स अवार्ड २०२५ सहित नगद २ लाख ५० हजार रुपैयाँ प्रदान गरी सम्मान गरेको हो ।
फाउन्डेसनकी अध्यक्ष रेणु शाहले दुवै खेलाडीलाई सम्मान हस्तान्तरण गरिन् । शरदचन्द्र शाहले नेपाली खेलकुदको कार्यकारी निकाय राष्ट्रिय खेलकुद परिषद्मा ११ वर्षसम्म सदस्यसचिवको जिम्मेवारी सम्हालेका थिए । उनलाई नेपालको सफल सदस्यसचिवका रूपमा स्मरण गरिन्छ ।
कार्यक्रममा पूर्वमन्त्री निरन्जन थापाले शाहको योगदान र नेतृत्व क्षमताको चर्चा गर्दै नेपाली खेलकुदको समृद्धिमा उनको भूमिकालाई स्मरण गरे । 'नेपाली खेलकुदले गरेको प्रगतिको फड्को नै शाहप्रति सच्चा श्रद्धाञ्जली हो,' उनले भने ।
नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर शाहले पनि अरूणा शाहीको नेतृत्व र योगदानको प्रशंसा गर्दै, शरदचन्द्र शाहकै कार्यकालमा नेपाली खेलकुदमा धेरै विकास भएको बताए ।
कार्यक्रममा शाहका नाती शभिर शाहले पनि आफ्ना हजुरबुबाको सम्झना गर्दै आगामी दिनमा नेपाली खेलकुदको हितमा अझै काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।