काठमाडौं । निजी विद्यालयलाई सेवामूलक, लोक कल्याणकारी हुँदै गैरनाफामूलक गर्ने गरी संसदीय समितिमा सहमति जुटेको छ । निजी विद्यालयका बारेमा शुक्रबार विहानसम्म सांसदहरूबीच मत बाझिएको थियो ।
असार १५ आउन दुई दिनमात्र बाँकी रहँदा विद्यालय शिक्षा विधेयकमाथि छलफल तीव्र रूपमा भइरहेको छ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले बुधबारदेखि शुक्रबारसम्म तीव्र रूपमा छलफल गरिरहेको हो ।
बिहीबार दिनभरि पनि सांसदहरू छलफलमा व्यस्त थिए भने शुक्रबार पनि बिहानैदेखि छलफल जारी रहेको पूर्वशिक्षामन्त्री तथा नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले बताए । उनका अनुसार विवादित विषयमा बुधबारदेखि लगातार छलफल सुरु भइरहेको छ ।
बिहीबार निजी विद्यालयको विषय छलफल भएको थियो भने शुक्रबार यो विषय टुंगोमा लगाइ प्रारम्भिक बालविकास (इसीडी) का विषयमा छलफल सुरु भएको छ ।
समितिको बैठकमा सभापति अम्मरबहादुर थापाले निर्णयार्थ प्रस्तुत गरेका थिए । यसमामा सांसदहरुले आआफ्ना तर्कसमेत राखेका थिए । त्यसपछि निजी विद्यालय सेवामूलक, लोककल्याणकारी क्रमशः गैर नाफामुलक बनाएर जाने गरी उक्त प्रस्ताव सर्वसम्मतिबाट पारित भएको हो ।
इसीडीमाथि छलफल हुँदै
निजी विद्यालयको विषय संसदीय समितिबाट सर्वसम्मत रूपमा पारित भइसकेपछि समितीको बैठकमा अहिले प्रारम्भिक बाल विकास (इसीडी) का बारेमा छलफल सुरु भएको छ । इसीडीलाई विद्यालयभित्र ल्याउनेकी छुट्टै बनाउने भन्ने विषयमा सहमति नजुटेकोमा अहिले सांसदहरू यो विषयमा धारणा राखिरहेका छन् ।
पूर्वशिक्षामन्त्री एवं एमाले सांसद विद्या भट्टराई इसीडीलाई विद्यालय संरचनामा ल्याउनुपर्ने बताउँछिन् ।
त्यसैगरी, पूर्वशिक्षामन्त्री एवं रास्वपाकी सांसद सुमना श्रेष्ठले बालविकासलाई विद्यालय शिक्षा संरचनामा मै राख्नु पर्न बताउँदै निजी र सामुदायिक बीच विभेद हुन नहुने बताइन् । इसीडीमा अहिले ३२ हजार सहजकर्ता छन् ।