सिटिजन्स सदाबहार योजना शुक्रबारदेखि देखि सार्वजनिक निष्कासनमा

काठमाडौं । सिटिजन्स म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने खुलामुखी योजना ‘सिटिजन्स सदाबहार योजना’ आगामी शुक्रबार (असार १३ गते)देखि सार्वजनिक निष्कासनमा आउन लागेको छ ।

यो योजनाको कोष प्रवर्द्धक सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड रहेको छ भने योजना व्यवस्थापक तथा डिपोजिटरी सिटिजन्स क्यापिटल लिमिटेड हो ।

योजना अन्तर्गत प्रति इकाई १० रुपैयाँ अंकित मूल्यमा ५ करोड इकाई निष्कासन हुनेछ । जसमध्ये ७५ लाख इकाई (१५ प्रतिशत) सिटिजन्स बैंकलाई सुरक्षित राखिनेछ र बाँकी ४ करोड २५ लाख इकाई सर्वसाधारणका लागि सार्वजनिक निष्कासन हुनेछ ।

सार्वजनिक निष्कासनमा न्यूनतम १०० इकाईदेखि अधिकतम ५० लाख इकाईसम्म आवेदन दिन सकिनेछ । निष्कासन छिटोमा असार १७ गते र ढिलोमा असार २७ गतेसम्म खुला रहनेछ ।

यदि थप गरिएको बिक्री अवधिभर कम्तीमा २ करोड ५० लाख इकाईका लागि आवेदन नपरेमा योजना खारेज हुने र आवेदकको रकम फिर्ता गरिने व्यवस्था गरिएको छ । तर मागभन्दा बढी आवेदन परेमा २५ प्रतिशत इकाई थप गरी अधिकतम ६ करोड २५ लाख इकाईसम्म बाँडफाँड गरिनेछ ।

योजना खुलामुखी भएकाले यसको परिपक्व अवधि तय हुनेछैन । बाँडफाँड भएको ३ महिनापछि इकाईको खरीद–बिक्री सुरु गर्न सकिनेछ । साथै, यो धितोपत्र दोस्रो बजारमा सूचीकरण नहुने भए पनि अधिकृत वितरकमार्फत कारोबार गर्ने व्यवस्था मिलाइएको छ ।

Share News