काठमाडौं । नेपालमा हुन्डाई सवारीसाधनको एकमात्र आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले धनगढीमा नयाँ क्रेटा ईभी (विद्युतीय गाडी) सार्वजनिक गरेको छ । बुधबार दिनेश फोर व्हील्सको आयोजनामा सम्पन्न विशेष कार्यक्रममा नयाँ क्रेटा ईभीको अनावरणसँगै हुन्डाईका अन्य मोडलहरू पनि प्रदर्शन गरिएका थिए ।
धनगढीको होटल फ्लोरा, छटकपुरमा आयोजित कार्यक्रममा ग्राहकहरूको उल्लेखनीय सहभागिता देखिएको थियो । कार्यक्रममा सहभागीहरूसँग प्रत्यक्ष अन्तरक्रिया गर्दै कम्पनीका प्रतिनिधिहरूले ईभी खरिद, सेवा सुविधा, स्पेयर पार्ट्स, चार्जिङ नेटवर्क लगायतका विषयमा विस्तृत जानकारी प्रदान गरे ।
हुन्डाईको क्रेटा ईभी र आईसीई (पेट्रोल) दुवै मोडल एउटै प्लेटफर्ममा आधारित भएकाले बिक्रीपछिको सेवा, पार्ट्स उपलब्धता र दीर्घकालीन ब्रान्ड सपोर्टमा कुनै समस्या नहुने कम्पनीको दाबी छ । साथै, विद्युतीय सवारी साधनमा विश्वास बढाउन कम्पनीले देशभर ६६ वटा रिल्याक्स चार्जिङ स्टेशन (डीसी र एसी) सञ्चालनमा ल्याइसकेको जनाएको छ ।
यस अभियानलाई राष्ट्रिय सन्देशका रूपमा फैलाउने उद्देश्यले कम्पनीको उच्च व्यवस्थापन टोलीले देशभर डिलरहरूसँग प्रत्यक्ष संवाद गर्दै आएको छ । सफा र स्मार्ट भविष्यतर्फको यात्रालाई सघाउने लक्ष्यसहित हुन्डाई नेपालले ग्राहकहरूसँगको सम्बन्ध अझ बलियो बनाउने अठोट व्यक्त गरेको छ ।