जुकरबर्गको नयाँ खेल : एआई दुनियाँमा अग्रता लिन अरबौं खर्च गर्न तयार

काठमाडौं । मेटाका सीईओ मार्क जुकरबर्ग कृत्रिम बौद्धिकता (एआई)को दौडमा सबैभन्दा अगाडि निस्कन निकै आतुर देखिएका छन् । पछिल्ला केही महिनादेखि उनी स्वयम्‌ एआई क्षेत्रमा काम गर्ने तेज दिमाग भएका व्यक्तिहरूसँग प्रत्यक्ष सम्पर्क गरिरहेका छन् । 

वाल स्ट्रिट जर्नलका अनुसार उनले केही व्यक्तिहरूलाई १० करोड अमेरिकी डलर (झन्डै १ हजार  ३७६ करोड नेपाली रुपैयाँ) सम्मको अफर पनि गरेका छन् ।

जुकरबर्गले सयौं अनुसन्धानकर्ता, वैज्ञानिक, इन्जिनियर र उद्यमीहरूलाई मेटाको नयाँ ‘सुपरइण्टेलिजेन्स ल्याब’ मा सहभागी गराउन प्रयासरत छन् । उनी ती प्रतिभावान् व्यक्तिहरूलाई ठूलो रकम अफर गरेर आफ्नो कम्पनीमा ल्याउन चाहन्छन् ।

केही व्यक्तिहरूलाई १० करोड डलरको प्याकेजसँगै एआई स्टार्टअप स्केलमा हिस्सा दिने प्रस्ताव पनि गरिएको छ । यसबाहेक उनीहरूले स्केलका सीईओ अलेक्जेन्डर वांगमाथि झण्डै १४ अर्ब डलर खर्च गरेका छन् । वांग मेटाको नयाँ एआई टोलीको नेतृत्व गर्नेछन् । २८ वर्षीय वांग प्रविधि क्षेत्रको इतिहासमै अहिलेसम्मकै महँगो नियुक्तिमा पर्न सफल भएका छन् ।


रिपोर्टअनुसार जुकरबर्गले ओपनएआईका कर्मचारीहरूसँग पनि कुरा गरेका छन्, जसमा सह(संस्थापक इल्या सुत्स्केभर पनि थिए । तर, ओपनएआईका सीईओ साम अल्टम्यानका अनुसार जुकरबर्गको प्रस्ताव कुनै पनि शीर्ष कर्मचारीले स्वीकार गरेका छैनन् ।

जुकरबर्ग आफै छन् भर्ती प्रक्रियामा सक्रिय

जुकरबर्ग स्वयम्‌ भर्ती प्रक्रियामा प्रत्यक्ष सहभागी छन् । उनी विश्वास गर्छन् कि मेटामा उनले सबैभन्दा ठूलो योगदान यही क्षेत्रमा दिन सक्छन् । जुन व्यक्तिहरूलाई उनी मनाउने काममा सफल हुन्छन्, तिनीहरूलाई उनी प्रायः आफ्नो पालो आल्टो वा लेक ताहोस्थित घरमा बोलाउँछन् । उनी हायरिङको सम्पूर्ण प्रक्रियामा समावेश हुन्छन्, यहाँसम्म कि कुन कर्मचारी कहाँ बस्ने भन्ने पनि उनी नै निर्धारण गर्छन् ।

केही व्यक्तिहरूले जुकरबर्गको अफर अस्वीकार गरेका छन् । उनीहरूको भनाइ छ कि जुकरबर्गको ‘सुपरइण्टेलिजेन्स’ सम्बन्धी अवधारणा स्पष्ट छैन र ५० जनाको एआई टोलीका लागि कुनै ठोस योजना पनि देखिँदैन ।

जुन व्यक्तिहरूलाई जुकरबर्गले प्रत्यक्ष सन्देश पठाएका थिए, तीमध्ये केहीलाई विश्वास नै लागेन कि मेटाका सीईओ आफैले सम्पर्क गरेका हुन् । केहीले त इमेललाई मजाक ठानी उत्तरै दिएनन् ।

जुकरबर्ग एआईको भविष्यप्रति पूर्ण विश्वास राख्छन् । उनी मेटालाई यस क्षेत्रमा विश्वकै सबैभन्दा ठूलो कम्पनी बनाउने लक्ष्यमा छन् । यसैले उनी उत्कृष्ट प्रतिभाहरूसँग प्रत्यक्ष सम्पर्कमा रहेर ठूलो रकम खर्च गरेर पनि आफ्नो टोली बलियो बनाउन चाहन्छन् ।

Share News