काठमाडौं । पूर्वअर्थमन्त्री एवं नेकपा एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले भविष्यमा नेपालको सबैभन्दा ठूलो आम्दानीको श्रोत पर्यटन क्षेत्र रहेको बताएका छन् ।
काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका छन् । उनले अझ आन्तरिक र नजिकका पर्यटकहरुलाई आकर्षित गर्नसक्ने गरी पर्यटन क्षेत्रको प्रवर्द्धन गर्न जरुरी रहेको बताएका हुन् ।
उनले नेपालले चीन र भारतका पर्यटकहरुलाई बढी भित्र्याउने गरी आफ्ना योजनाहरु अघि बढाउनुपर्ने बताए । उनले चीन र भारतका मध्यमवर्गलाई लक्षित गरी पर्यटनका योजनाहरु अघि बढाउनुपर्ने बताए ।
नेपालमा हरेक वर्ष भारत र चीनबाट ५० लाख भारतीय र ५० लाख चिनियाँ पर्यटक भित्रिए नेपालको अर्थतन्त्र कायापलट हुने जिकिर गरे । उनीहरुलाई धान्नसक्ने पर्यटन पूर्वाधार बनाउनुपर्नेमा जोड दिए ।
पूर्वअर्थमन्त्री पाण्डेले भने, ‘नेपालको सबैभन्दा ठूलो रिसोर्स भविष्यमा के हुनसक्छ भन्दा टुरिजम हुनसक्छ । त्यसमा म के देख्छु भने सबैभन्दा बढी को घुम्न जान्छ भन्दा र कहाँ जान्छ भन्दा नजिकका मान्छे नजिक ठाउँमा जान्छ । धेरै धनीहरु त यहाँ आउँदैनन् । तर मध्यम वर्गका चीन र भारतका मान्छे यहाँ आउनसक्छन् । उनीहरुमै धेरै जनसंख्या छ । ५० लाख भारत र ५० लाख मानिस चीनबाट आउनसक्ने सम्भावना छ ।’
पूर्वअर्थमन्त्री पाण्डेले प्रभावकारी सरकारको खोजि गर्न जरुरी रहेको बताए ।