काठमाडौं । काठमाडौं महानगरपालिका बाहेक बाँकी पाँच वटा महानगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि बजेट सार्वजनिक गरेका छन् । प्रस्तुत बजेटमा स्थानीय पूर्वाधार, सामाजिक विकास, वातावरण संरक्षण तथा सेवा प्रवाहलाई प्राथमिकतामा राखिएको छ ।
अधिकांशले भौतिक पूर्वाधार, सामाजिक सेवा र सहरी विकासलाई प्राथमिकतामा राखेका छन् ।
ललितपुरले ल्यायाे ७ अर्ब ४६ करोडको बजेट
ललितपुर महानगरले आव २०८२/८३ का लागि ७ अर्ब ४६ करोड ८३ लाख रुपैयाँको बजेट प्रस्ताव गरेको छ । उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले नगरसभामा प्रस्तुत गरेको बजेटमा चालु खर्चतर्फ २ अर्ब ७८ करोड ८९ लाख र पुँजीगत खर्चतर्फ ४ अर्ब ६७ करोड ९४ लाख रुपैयाँ विनियोजन गरिएको छ ।
बजेटले समृद्धि, सुशासन, सांस्कृतिक संरक्षण, दिगो पूर्वाधार, स्वच्छ खानेपानी, शिक्षा, रोजगार र आत्मनिर्भर अर्थतन्त्रलाई प्राथमिकतामा राखेको छ ।
तर, चालु आव २०८१/८२ को पुँजीगत खर्च जेठ मसान्तसम्म जम्मा ४२ प्रतिशत मात्र पुगेको छ । कुल ७ अर्ब ४६ करोडको बजेटमध्ये हालसम्म ३ अर्ब ९७ करोड ८८ लाख (५३ प्रतिशत) मात्र खर्च भएको महानगरको प्रगति प्रतिवेदनमा उल्लेख छ । चालु खर्च ७३ प्रतिशत भए पनि पुँजीगत खर्च अपेक्षाकृत कम देखिएको छ ।
पोखरा महानगरकाे ८ अर्ब ३८ करोडको बजेट
पोखरा महानगरले आव २०८२/८३ का लागि ८ अर्ब ३८ करोड १२ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । उपप्रमुख मञ्जुदेवी गुरुङद्वारा प्रस्तुत बजेटमा संघीय अनुदानबाट ३ अर्ब १ करोड र आन्तरिक आम्दानीबाट ५ अर्ब २३ करोड उठाउने लक्ष्य लिइएको छ ।
बजेटको ४४.६४ प्रतिशत (२ अर्ब ३३ करोड) पूर्वाधार विकासमा छुट्याइएको छ । नगर कार्यपालिकाको कार्यालय, सामाजिक, आर्थिक र सहरी विकास, पर्यटन, वातावरण तथा वडास्तरीय योजनामा छुट्टै विनियोजन गरिएको छ ।
पोखराले पर्यटन, कृषिमा आधुनिकीकरण, सहरी विकास, समावेशी समाज निर्माण र गुणस्तरीय सेवा प्रवाहलाई प्राथमिकता दिएको उल्लेख गरेको छ ।
विराटनगर महानगरकाे ४ अर्ब ४० लाखको बजेट
विराटनगर महानगरले २०८२/८३ का लागि ४ अर्ब ४० लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । उपप्रमुख शिल्पा कार्कीले नगरसभामा प्रस्तुत गरेको बजेटमा पूर्वाधार विकास, वडा योजनाहरू र सामाजिक क्षेत्रलाई प्राथमिकता दिइएको छ ।
बजेट स्रोतमा संघ–प्रदेशबाट प्राप्त हुने समानीकरण अनुदान ३७ करोड ९६ लाख, राजस्व बाँडफाँट १ अर्ब १९ करोड, आन्तरिक राजस्व १ अर्ब ४० करोड, तथा सशर्त अनुदान र अन्य स्रोतबाट बाँकी रकम संकलन हुने जनाइएको छ ।
महानगरले सडक मर्मत, फोहोरपानी प्रशोधन केन्द्र, विद्युतीय कार्यक्रम, भवन संहिता कार्यान्वयन लगायतका क्षेत्रमा बजेट विनियोजन गरेको छ ।
भरतपुर महानगरकाे ५ अर्ब १९ करोडको बजेट
भरतपुर महानगरपालिकाले चालु आर्थिक वर्षको तुलनामा झण्डै १ अर्ब घटाएर ५ अर्ब १९ करोड ७१ लाख रुपैयाँको बजेट ल्याएको छ । उपप्रमुख चित्रसेन अधिकारीद्वारा प्रस्तुत बजेटमा आन्तरिक राजस्व १ अर्ब ८० करोड र अन्तरसरकारी वित्तीय हस्तान्तरणमार्फत २ अर्ब १५ करोडभन्दा बढी स्रोत जुटाइने अनुमान छ ।
बजेटमा प्रमुख प्राथमिकताहरूमा शिक्षा, स्वास्थ्य, कृषि, विपद् व्यवस्थापन, सहरी पूर्वाधार, गौतमबुद्ध क्रिकेट रंगशाला निर्माण, प्रशासनिक भवन विकास र वडास्तरीय योजना छन् ।
तर, पुँजीगत खर्च अत्यन्त कमजोर देखिएको छ। चालु वर्षको पुँजीगत खर्च ३८ प्रतिशतमा सीमित छ । २ अर्ब ७२ करोड विनियोजन गरिएकोमा असारको पहिलो सातासम्म १ अर्ब ३ करोड मात्र खर्च भएको छ ।
वीरगन्ज महानगरकाे ३ अर्ब २२ करोडको बजेट
वीरगन्ज महानगरले २०८२/८३ का लागि ३ अर्ब २२ करोड ४८ लाख रुपैयाँको बजेट प्रस्ताव गरेको छ । चालु खर्चतर्फ २ अर्ब २६ करोड (७०.२४ प्रतिशत), पुँजीगत खर्चतर्फ ९२ करोड (२८.६४ प्रतिशत) र वित्तीय व्यवस्थापनतर्फ ३ करोड ६४ लाख विनियोजन गरिएको छ ।
राजस्व स्रोतमा आन्तरिक आम्दानी १ अर्ब १५ करोड, संघीय अन्तर सरकारी हस्तान्तरण १ अर्ब ३७ करोड, संघीय तथा प्रदेश सरकारबाट राजस्व बाँडफाँट, घरजग्गा शुल्क र नगद मौज्दात रहेका छन् ।
बजेटले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, सरसफाइ, वातावरण तथा डिजिटल सेवा प्रवाहमा प्राथमिकता दिएको छ । मेयर राजेशमान सिंहले नगरसभामा नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।