काठमाडौं । टेस्लाविरुद्ध न्यू जर्सीको क्याम्डेनस्थित संघीय अदालतमा सोमबार मुद्दा दायर गरिएको छ । गत सेप्टेम्बरमा अटोपाइलट र फुल सेल्फ-ड्राइभिङ फिचर रहेको २०२४ मोडल एस दुर्घटना हुँदा तीन जनाको ज्यान गएको थियो ।
‘गलत मृत्यु’ सम्बन्धी उक्त मुद्दामा डेविड ड्रायरम्यान (५४), उनकी श्रीमती मिचेल (५४) र छोरी ब्रुक (१७) को मृत्यु कारको ‘त्रुटिपूर्ण र अस्वाभाविक रूपमा खतरनाक डिजाइन’ का कारण भएको दाबी गरिएको छ ।
मुद्दामा क्षतिपूर्ति र दण्डात्मक क्षतिपूर्ति माग गरिएको छ ।
प्रकाशित रिपोर्टअनुसार ड्रायरम्यान परिवार गत सेप्टेम्बर १४ मा न्यू जर्सीको वुडब्रिज टाउनसिपमा संगीत महोत्सवबाट फर्कंदै गर्दा उनीहरू सवार मोडल एस बाटोबाट बाहिरिएर साइनबोर्ड, रेलिङ र कङ्क्रिट पुलको खम्बामा ठोक्किएको थियो ।
मुद्दा निवेदनमा भनिएको छ कि गाडीको त्रुटिपूर्ण डिजाइनले गाडीलाई सही लेनबाट बाहिर जान र आपतकालीन ब्रेक नलगाउन बाध्य पार्यो, जसले दुर्घटना निम्त्यायो ।
साथै टेस्लाले चालक डेविड ड्रायरम्यानलाई उनको मोडल एस असुरक्षित रहेको चेतावनीसमेत नदिएको उल्लेख छ । मस्कले सन् २०१६ मा अटोपाइलट ‘मानिसभन्दा सायद राम्रो’ भन्ने अभिव्यक्ति दिएको कुरा पनि मुद्दामा प्रस्तुत गरिएको छ ।
मुद्दा निवेदनअनुसार ड्रायरम्यान परिवारका सदस्यहरूले सिट बेल्ट लगाएका थिए।
‘हजारौं टेस्ला चालकहरूले कम्पनीको अटोपालट एड्भान्स ड्राइभर-असिस्टेन्स सिस्टम (एडीएएस) प्रविधिलाई सामान्य सफ्टवेयर अपडेटपछि नै पूर्ण सुरक्षित र स्वचालित ड्राइभिङ जस्तो बुझेर भर पारेका छन्, तर वस्तुतः यो प्रविधाले चालकको सहयोगबिनै विभिन्न सामान्य सडक अवस्थाहरूलाई सुरक्षित रूपमा सामना गर्न सक्दैन,’ मुद्दामा भनिएको छ ।
अर्बपति उद्यमी एलन मस्कको नेतृत्वमा रहेको टेक्सासको अस्टिनस्थित टेस्लाले बजार बन्दपछिको समयसम्म यसबारे कुनै प्रतिक्रिया दिएको छैन । उजुरीकर्ताका वकिलहरूले समेत तत्काल प्रतिक्रिया जनाएका छैनन् ।
मस्कको कम्पनी टेस्लामाथि लामो समयदेखि यसको स्वचालित ड्राइभिङ प्रविधिको सुरक्षाबारे प्रश्न उठ्दै आएको छ । टेस्लाले भने आफ्ना फिचरहरू ‘पूर्ण रूपमा सचेत चालक’ का लागि मात्र भएकाले स्टेरिङ ह्वीलबाट हात नछोड्न निर्देशन दिएको बताउँदै आएको छ र हालको फिचरहरूले सवारीसाधनलाई पूर्ण स्वचालित बनाउँदैन भनेर स्पष्ट पारेको छ ।
अमेरिकाको राष्ट्रिय राजमार्ग यातायात सुरक्षा प्रशासनको दबाबपछि सन् २०२३ डिसेम्बरमा टेस्लाले अमेरिकामा दुई करोडभन्दा बढी गाडी फिर्ता बोलाएर एडीएएसमा सुरक्षात्मक सुधार थप्ने सहमति जनाएको थियो ।
अब बिना ड्राइभर ट्याक्सीमा यात्रा, मस्कको रोबोट्याक्सी सार्वजनिक