‘खल्ती’ ले सुरु गर्‍यो स्मार्ट डिपोजिट : डिजिटल वालेटमार्फत अब नियमित बचत सम्भव

काठमाडौं । खल्तीले मञ्जुश्री फाइनान्सको सहकार्यमा डिजिटल वालेटमार्फत बचत गर्न सकिने ‘स्मार्ट डिपोजिट’ सुविधा सुरु गरेको छ ।

यस सेवामार्फत खल्ती प्रयोगकर्ताले आफ्नो वालेटबाटै दैनिक, साप्ताहिक वा मासिक रूपमा निश्चित रकम बचत गर्न सक्नेछन् । बचत अवधि ६ महिना देखि ६० महिना सम्म चयन गर्न मिल्नेछ भने न्यूनतम १०० रुपैयाँबाट सुरुआत गर्न सकिने सुविधा रहेको खल्तीले जनाएको छ ।

नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार सञ्चालित हुने यो डिपोजिट खाता मञ्जुश्री फाइनान्सको नाममा खोलिनेछ र मासिक प्रकाशित आरडी ब्याजदर नै लागु हुनेछ । प्रयोगकर्ताले खल्ती एपबाटै बचतको स्थिति हेर्न सक्ने सुविधा पनि पाउनेछन् ।

खल्तीका बिजनेस पार्टनरसिप प्रमुख बसन्त दाहालका अनुसार स्मार्ट डिपोजिटले वित्तीय अनुशासन र डिजिटल बचत संस्कार प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ ।

मञ्जुश्री फाइनान्सका सीईओ तेजराज तिमिलसिनाले यो सेवा डिजिटल कारोबारमा समय र प्रक्रिया दुबैलाई सहज बनाउने बताउँदै भने, 'अब खल्ती प्रयोगकर्ताले घरमै बसेर खाता खोल्न र बचत गर्न सक्नेछन् ।'

स्मार्ट डिपोजिटजस्ता प्रविधिमैत्री वित्तीय सेवाहरूले ‘डिजिटल नेपाल’ निर्माणको यात्रालाई गति दिने अपेक्षा गरिएको छ ।

Share News