मनमोहन प्राविधिक विश्वविद्यालयले आयुर्वेदिक औषधि उत्पादन गर्ने

काठमाडौं । मोरङको बूढीगङ्गा गाउँपालिकास्थित मनमोहन प्राविधिक विश्वविद्यालयले आयुर्वेदिक औषधि उत्पादनको तयारी सुरु गरेको छ । विश्वविद्यालयले मधुमेहसम्बन्धी उपचारमा प्रयोग हुने औषधिको अनुसन्धान गरी उत्पादन सुरु गर्ने तयारी गरेको हो । 

विश्वविद्यालयका उपकुलपति डा. सुवास श्री पोखरेलले नेपाली जडिबुटीको प्रयोग गरी मधुमेह रोगको उपचार विधि र पद्धतिलाई महत्त्व दिँदै उत्पादनसम्बन्धी अनुसन्धान भइरहेको जानकारी दिए । चालु शैक्षिक सत्रमा विश्वविद्यालयले १० वटा विभिन्न विषयमा अनुसन्धान गरिरहेको उनको भनाइ छ । 

उपकुलपति पोखरेलका अनुसार १० वटा अनुसन्धानमध्ये मधुमेह रोगको उपचार गर्ने र ब्याक्टेरियोफेज सम्बन्धी अनुसन्धानलाई विशेष महत्त्वका साथ अगाडि बढाइएको छ । आफ्नै प्रयोगशालामा अनुसन्धान गरी विभिन्न आयुर्वेदिक औषधिसम्बन्धी उत्पादनको तयारी भइरहेको उनको भनाइ छ ।

उनले तह १ देखि तह ५ सम्मको ‘स्किल टेस्ट’ पास गरिसकेका विद्यार्थीलाई तह ६ देखि तह ८ सम्मको अध्ययन गराउने योजनाअनुसार विश्वविद्यालय अघि बढेको धारणा व्यक्त गरे । उपकुलपति पोखरेलले विश्वविद्यालयमा स्नातक र स्नातकोत्तर अन्तर्गतका विभिन्न कार्यक्रममा ३२२ विद्यार्थी अध्ययनरत रहेका जानकारी दिए ।

कोसी प्रदेश सरकारले विसं २०७६ मा स्थापना गरेको विश्वविद्यालय मुलुकभित्रको पहिलो प्राविधिक विश्वविद्यालय हो । उपकुलपति पोखरेलले मुलुकको पहिलो प्राविधिक विश्वविद्यालय भए पनि प्रदेश सरकारबाट अपेक्षित रूपमा बजेट विनियोजन नभएको गुनासो व्यक्त गरे । 

विश्वविद्यालयले प्रदेश सरकारसँग आगामी आर्थिक वर्षका लागि ३७ करोड रुपैयाँ बजेट माग गरेकोमा १४ करोड रुपैयाँ मात्र विनियोजन भएको उपकुलपति पोखरेलले उल्लेख गरे । उनले कूल बजेटको ०.५ प्रतिशत मात्रै विनियोजन हुनु दुःखद भएको बताए । 

Share News