होटल संघको सुझाव : कर्जा, डलर कारोबार र भुक्तानी प्रणाली सहज बनाऊ

काठमाडौं । होटल संघ नेपालको प्रतिनिधिमण्डलले नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेललाई भेट गरी मौद्रिक नीतिमा पर्यटन र होटल क्षेत्रलाई प्राथमिकता दिन आग्रह गरेको छ । संघले सोमबार गभर्नरसँगको भेटमा हालको आर्थिक वर्षको बजेटमा समेटिएका योजनाहरूको प्रभावकारी कार्यान्वयनका लागि मौद्रिक नीतिले टेवा पुर्याउनुपर्नेमा जोड दिएको हो ।

संघका अध्यक्ष विनायक शाहले होटल उद्योगमा लागत बढ्दो क्रममा रहेकाले व्यवसायको वित्तीय अवस्था अनुसार विशेष उद्योगसरह कर्जाको साँवा र ब्याज भुक्तानीमा सुविधा दिनुपर्ने माग गरे । उनले होटेल व्यवसायीहरूलाई डलर खाता सञ्चालन तथा डलर कार्ड प्रयोगमा सहजता, पर्यटकहरूका लागि सटही सीमा वृद्धि, र बुकिङ प्लाटफर्ममार्फत डलरमा भुक्तानी गर्ने बाध्यता समाधान गर्नसमेत आग्रह गरे ।

शाहले पर्यटन क्षेत्रलाई राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगको मान्यता दिइसकेको अवस्थामा कर्जामा न्यून ब्याजदर कायम गर्नुपर्ने बताए । साथै, पर्यापर्यटनमा आधारित होटेल तथा रिसोर्टलाई सस्तो व्याजदरमा विद्युतीय सवारीसाधन तथा उपकरण खरिदका लागि ऋण प्रवाह गर्न अनुरोध गरे ।

संघले अनलाइन भिषा फारम त भरिए पनि विदेशी मुद्रामा भुक्तानी गर्न नपाइने स्थिति हटाउन र बैंकहरूसँग सहकार्य गर्दै साइबर सुरक्षालाई मजबुत बनाउन आग्रह गर्यो । बंगलादेश र श्रीलंकाबाट आउने पर्यटकहरूलाई स्थानीय मुद्रामै भुक्तानी गर्ने व्यवस्था भएमा क्षेत्रीय पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने संघको भनाइ छ ।

अन्त्यमा, गभर्नर पौडेलले संघका मागहरूलाई सकारात्मक रूपमा लिने आश्वासन दिएको संघले जनाएको छ ।

Share News