काठमाडौं । नेपालको पिकअप बजारमा एक नयाँ अध्याय सुरु भएको छ । फोटोनको बहुप्रतीक्षित पिकअप टुनल्याण्ड जी ७ शुक्रबार पुलचोकस्थित ‘द प्लाजा’मा एक भव्य कार्यक्रमबीच औपचारिक रूपमा सार्वजनिक गरिएको छ ।
नेपालमा सार्वजनिक हुनुअघि नै टुनल्याण्ड जी ७ ले २३ दिनमा विश्वका ८ वटा अग्ला र चुनौतीपूर्ण अफ-रोड ट्रेलहरू पार गरेर कीर्तिमान राखेको थियो । यसले यो पिकअपलाई विश्वमै पहिलो पटक यस्ता कठिन भूभाग पार गर्ने पिकअपको रूपमा स्थापित गराएको कम्पनीले जनाएको छ ।
टुनल्याण्ड जी ७ को नेपाल आगमनलाई स्वागत गर्दै कार्यक्रममा एमएडब्लू वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकारियाले फोटोनसँगको सहकार्यप्रति विश्वास व्यक्त गरे ।
उनले पछिल्ला वर्षहरूमा नेपालमा १ हजार ५०० भन्दा बढी फोटोन सवारीसाधन बिक्री भएको र त्यसमध्ये ५०० भन्दा बढी पिकअप रहेको समेत दिए ।
सार्वजनिक कार्यक्रममा फोटोन इन्टरनेशनल साउथ एसियाका प्रबन्ध निर्देशक एरिक वाङ, बेइकी फोटोनका पीआर निर्देशक ली जुओचेङ, प्यासेन्जर भेहिकल बिजनेसका सीनियर मार्केटिङ म्यानेजर एमिली डिङ, लियो झाओ र एमएडब्लू वृद्धि कमर्सियलका सीईओ तुषार गुप्तालगायत कम्पनीका शीर्ष पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रमपछि टुनल्याण्ड जी ७ बुकिङ गरेका ग्राहकहरूलाई साँचो हस्तान्तरणसमेत गरिएको थियो ।
फोटोनले चीनमा पहिलो पटक अटोनोमस व्यवसायिक सवारी सार्वजनिक गरेको इतिहास बोकेको कम्पनी हो । त्यसै नवप्रवर्तनशील परम्पराको पछिल्लो उदाहरण टुनल्याण्ड जी ७ हो ।
१६० एचपी पावर र ३९० एनएम टर्क क्षमताको यो पिकअप २२५ मिमीको ग्राउन्ड क्लियरेन्सका साथ हिमाली र कठोर अफ-रोड मार्ग सहजै पार गर्न सक्ने बनाइएको छ । हिल होल्ड कन्ट्रोल, हिल डिसेण्ट कन्ट्रोल र पुश-स्टार्ट बटनजस्ता फिचरहरूले यसको अफ-रोड क्षमतालाई अझ प्रभावकारी बनाउँछन् ।
साथै यसमा १२।३ इन्चको इन्फिनिटी टच स्क्रिन, तातो तथा चिसो हुने १२ तरिकाले एडजस्ट गर्न मिल्ने इलेक्ट्रिक सिट, प्यानोरामिक सनरूफ र अटोमेटिक एयर कन्डिसनिङ जस्ता सुविधा पनि छन् ।
यो गाडी तीन फरक भेरियन्ट एलिट, लक्जरी र फ्ल्यागशिपमा उपलब्ध छ । जसको मूल्य क्रमश: ५१ लाख ९९ हजार, ६५ लाख ४० हजार र ६९ लाख ९९ हजार रुपैयाँ रहेको छ ।
फोटोनका सवारीसाधन नेपालमा आधिकारिक रूपमा एमएडब्लू वृद्धि कमर्सियलले वितरण गर्दै आएको छ ।
