काठमाडौं । लाभांश प्रस्ताव पारित गर्न एशियन लाइफ इन्स्योरेन्सले १७औँ वार्षिक साधारण सभा बोलाएको छ । कम्पनी सञ्चालक समितिको असार ८ गते बसेको बैठकले असार ३० गते दिउँसो १ बजे काठमाडौंमा साधारण सभा बोलाएको हो ।
कम्पनीको सभाले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट हाल कायम चुक्ता पुँजी ३ अर्ब ३९ करोड ९८ लाख ३६ हजार रुपैयाँको ५.१० प्रतिशतका दरले १७ करोड ३३ लाख ९१ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि ०.२६ प्रतिशतका दरले ९१ लाख २५ हजार रुपैयाँ नगद गरी कुल ५.३६ प्रतिशत लाभांश प्रस्ताव पारित गर्नेछ ।
सभाले बोनस सेयर वितरण पश्चात् हदसम्म जारी तथा चुक्ता पुँजी वृद्धि गर्न स्वीकृति गर्ने, प्रबन्धपत्र तथा नियमावलीमा कुनै थपघट गर्न निर्देशन प्राप्त भएमा सो अनुसार फेरबदल गर्न संचालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्नेछ ।
सञ्चालक समितिको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, चालु आर्थिक वर्ष २०८१/८२ को लागि बाह्य लेखापरीक्षक बिके अग्रवाल एण्ड कम्पनी चार्टर्ड एकाउन्टेन्ट्स पुनः नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्नेछ ।
संस्थापक सेयरधनी समूहबाट प्रतिनिधित्व गर्ने ३ जना र सर्वसाधारण सेयरधनी समूहबाट प्रतिनिधित्व गर्ने २ जनाको निर्वाचन गर्ने र १ जना स्वतन्त्र सञ्चालक मनोनीत गर्नेछ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले असार २० गते बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले असार १९ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भइ कायम सेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाइ लाभांश प्राप्त गर्न सक्नेछन् ।