काठमाडौं । लाभांश प्रस्ताव तथा हकप्रद सेयर परिमार्जन प्रस्ताव पारित गर्न यूनाइटेड अजोड इन्स्योरेन्सले ३१औँ वार्षिक साधारण सभा बोलाएको छ । कम्पनी सञ्चालक समितिको बैठकले असार ३० गते बिहान साढे १० बजे काठमाडौंमा साधारण सभा बोलाएको हो ।
कम्पनीको सभाले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट हाल कायम चुक्ता पुँजी २ अर्ब १० करोड रुपैयाँको १० प्रतिशतका दरले २१ करोड रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि ०.५२ प्रतिशतका दरले १ करोड १० लाख ५२ हजार रुपैयाँ नगद गरी कुल १०.५२ प्रतिशत लाभांश प्रस्ताव पारित गर्नेछ ।
यसअघि कम्पनीले १५ प्रतिशत हकप्रद सेयर जारी गर्ने भनेतापनि बोनस सेयर वितरणपश्चात् चुक्ता पुँजी २ अर्ब ३१ करोड रुपैयाँ पुग्ने भएकाले सो पुँजीको १० प्रतिशत अर्थात प्रत्येक १०० कित्ता सेयर बराबर १० कित्ताका दरले हकप्रद सेयर जारी गर्ने प्रस्ताव सभामा पेस गरिएको छ । हकप्रद सेयर जारी पश्चात् कम्पनीको चुक्ता पुँजी नेपाल बीमा प्राधिकरणले तोकेको भन्दा बढी २ अर्ब ५४ करोड १० लाख रुपैयाँ पुग्नेछ ।
सभाले कम्पनीका सञ्चालकको पारिश्रमिक, भत्ता र सुविधा सम्बन्धी व्यवस्था संशोधन गर्ने, प्रबन्ध पत्र तथा नियमावलीमा कुनै थपघट गर्न निर्देशन प्राप्त भएमा सो अनुसार फेरबदल गर्न संचालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्नेछ ।
कम्पनीको सभाले सञ्चालक समितिको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, चालु आर्थिक वर्ष २०८१/८२ को लागि बाह्य लेखापरीक्षक जे.बि.राजभण्डारी एण्ड डिबिन्स चार्टर्ड एकाउन्टेन्ट्सलाइ पुनः नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने र सञ्चालकहरूको नियुक्ति अनुमोदन गर्नेछ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले असार १९ गते बुकक्लोज गर्ने निर्णय गरेको छ ।अघिल्लो दिनसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भइ कायम सेयरधनीहरूले कम्पनीको साधारण सभामा सहभागिता जनाइ लाभांश प्राप्त गर्न सक्नेछन् ।