सिन्धुपाल्चोकमा कृषकलाई लक्षित गरी निर्जीवन बीमा सचेतना कार्यक्रम सम्पन्न

सिन्धुपाल्चोक । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेड, चौतारा शाखाको आयोजनामा सिन्धुपाल्चोकको साँगाचोकगढी नगरपालिका- ४, कुविण्डेमा निर्जीवन बीमासम्बन्धी सचेतनामूलक छलफल कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ ।

२०८२ साल असार ५ गते आयोजित उक्त कार्यक्रममा कुविण्डे दुग्ध संकलन केन्द्रमा आबद्ध करिब २० जना कृषकले सहभागिता जनाएका थिए । 

उनीहरूलाई बीमाको महत्त्व, प्रयोग, लाभ तथा स्थानीयस्तरमा उपलब्ध निर्जीवन बीमालेखहरूबारे विस्तृत जानकारी प्रदान गरिएको थियो ।

कृषक तथा ग्रामीण समुदायमा बीमाप्रति जागरुकता अभिवृद्धि गर्दै जोखिम व्यवस्थापनलाई सहज बनाउन कार्यक्रमको उद्देश्य राखिएको शाखा प्रमुखले बताए ।

कुविण्डे दुग्ध कृषि सहकारीका अध्यक्ष प्रेमप्रसाद सापकोटाले कृषकको जीवनस्तर उकास्न बीमाको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गर्दै बीमा कम्पनीहरूले पहुँच विस्तारसँगै दाबी प्रक्रिया सरल बनाउन अझ सक्रिय भूमिका खेल्नुपर्ने धारणा राखे ।

हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले आगामी दिनमा पनि विभिन्न स्थानीय तहमा यस्ता सचेतनामूलक कार्यक्रम निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ ।

Share News