ललितपुर महानगरको नीति तथा कार्यक्रममा के-के विषय समेटिए ?

काठमाडौं । ललितपुर महानगरपालिकाले आर्थिक वर्ष २०८२/२०८३ को नीति तथा कार्यक्रम पेश गरेको छ । महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले सातौं नगरसभामा आगामी आव २०८२/२०८३ को नीति तथा कार्यक्रम पेश गरेका हुन्। 

महानगरपालिकाले नीति तथा कार्यक्रममा महानगरभित्रका सडकलाई रणनीतिक, सांस्कृतिक सडक निर्माण गर्ने भएको छ । 

नीति तथा कार्यक्रममार्फत महानगर प्रमुख महर्जनले पाटन दरबार क्षेत्र, बुङमती, खोकना, सुनाकोठी, धापाखेल हरिसिद्धिलाई समेटेर रणनीतिक सांस्कृतिक सडक निर्माणलाई प्राथमिकताका साथ कार्यान्वयन गर्ने बताए । 

यो अवधारणाले यी वडालाई सांस्कृतिक वडा बनाउन सहयोग पुग्ने नगर प्रमुख महर्जनले बताए । 

त्यसैगरी, दीर्घकालीन महत्व बोकेका सडकहरू पहिचान गरी ती सडकलाई रणनीतिक सडकहरूको रूपमा वर्गीकरण गरिने पेश गरिएको नीति तथा कार्यक्रममा उल्लेख छ । महानगर प्रमुख महर्जन नीति तथा कार्यक्रम प्रस्तुत गर्दै महानगर र वडाले गर्ने सडकको समेत वर्गीकरण गर्ने बताए ।

कलेज अफ आर्ट स्थापना गर्ने 

महानगरले हस्तकलाको संरक्षण र सम्वर्द्धनका लागि कलेज स्थापना गर्ने भएको छ । महानगरका प्रमुख महर्जनले भने, ‘सरोकारवाला र सम्बन्धित निकायसँग छलफल गरेर हस्तकलासम्बन्धी औपचारिक शिक्षाका लागि कलेज स्थापना गर्नेछौं ।’ 

लोप हुन लागेका सीप र कला संरक्षण सम्वर्द्धनका लागि सीप हस्तान्तरण र पुस्तान्तरण सम्बन्धी कार्यलाई पनि प्राथमिकतामा राखेर काम गर्ने महर्जनले बताए। 

ग्राउण्ड वाटर रिचार्जलाई अभियानको रूपमा अघि बढाउने

ललितपुर महानगरले परम्परागत पानीका मुहान संरक्षण गर्न ग्राउण्ड वाटर रिचार्जलाई अभियानको रुपमा अघि बढाउने भएको छ । नीति तथा कार्यक्रममा ढुंगेधारा , कुवा, इनार र पोखरीजस्ता स्रोतलाई संरक्षण गर्न विशेष ध्यान दिने उल्लेख छ । 

त्यसैगरी निजी जग्गामा रहेका पानीका मुहानहरू संरक्षणका गर्न महनगरले अधिग्रहण गरेर मुहान संरक्षण गर्ने भएको छ । 

खानेपानीको मुहानको संरक्षण, विकास गर्न अन्तरपालिका तथा सरोकारवाला निकायबीच समन्वय गर्ने समेत नीतिमा उल्लेख छ । यसैगरी, खोकना, बुङमती धापाखेल, सुनाकोठीमा खानेपानी व्यवस्थापनका लागि पानीट्याङ्की निर्माणको काम थलिने भएको छ । परम्परा राजकुलो, जलमार्गलाई पुनर्जीवित गर्न र परम्परागत  पानीको मुहानको पानी स्रोत विस्तार गर्न आवश्यक कार्य गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।

बसपार्क तथा बसस्टपलाई व्यवस्थित बनाइने

महानगरले महानगरभित्र रहेका बसपार्क तथा बसस्टपहरू सरोकारवालाहरु निकायसँग समन्वय गरी व्यवस्थित बनाइने भएको छ । त्यस्तै, साविक उपमहानगरपालिका अवस्थाको तयार भएको महागरस्तरीय यातायात गुरुयोजना लाई महागनर घोषणापश्चात थप भएका हाल वडा नं १८,२१,२२, २३,२४,२५, २६,२७,२८ र २९ समेत समेटेर एकीकृत रुपमा मास्टर प्लान तयार गरिने कार्यक्रममा उल्लेख छ । 

त्यस्तै महानगरभित्र सम्भावना भएका रुटहरूमा साझा बस सञ्चालनको लागि साझा यातायातसँग समन्वय गरिने भएको छ ।

एक विद्यालय एक सम्पदा संरक्षण कार्यक्रम सञ्चालन गरिने 

सम्पदा संरक्षणमा विद्यालय र विद्यार्थीहरूलाई संलग्न  गराउन यो कार्यक्रम संचालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । यसैगरी महानगरभित्रका सामुदायिक विद्यालयको नियमित अनुगमन तथा निरीक्षण कार्यलाई प्रभावकारी बनाउन प्रविधिमा आधारित अनुगमन प्रणालीको विकास गर्ने समेत नीति तथा कार्यक्रम उल्लेख छ ।  

महानगरभित्र सामुदायिक विद्यालयमा संचालित हरित विद्यालय वा विद्यालय बगैंचा कार्यक्रमलाई निरन्तरता दिइनेछ । यो कार्यक्रमलाई प्रतिस्पर्धी बनाउँदै उत्कृष्ट बगैंचा बनाउने ३ वटा विद्यालयलाई महानगर स्थापना दिवसको दिन आयोजित कार्यक्रममा नगद सहित पुरस्कृत गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

महानगरले आगामी शैक्षिक सत्रदेखि कक्षा पाँच सम्मको स्थानीय पाठ्यक्रममा नेपाल भाषालाई समावेश गर्ने भएको छ । महानगरभित्र संस्थागत र सामुदायिक विद्यालयमा संस्कृत भाषा, परियत्ति शिक्षा, नैतिक र संस्कारयुक्त शिक्षा पठनपाठनलाई महत्व दिने नीति तथा कार्यक्रममा उल्लेख छ । यसैगरी, कला, संस्कृति र सम्पदाको संरक्षणमा जोड दिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

त्यसबाहेक नीति तथा कार्यक्रमममा स्वास्थ्यतर्फ विभिन्न कार्यक्रमहरू समेटिएका छन् । महानगरपालिकाले ७० वर्षभन्दा माथिका जेष्ठ नागरिकहरु, अपंगता भएका व्यक्तिहरूको लागि सञ्चालनमा रहेको स्वास्थ्य उपचारसम्बन्धी ‘जेष्ठ नागरिक महानगर’ कार्यक्रममा नि:शुल्क थेरापी सेवा विस्तार गरी निरन्तरता दिने भएको छ। 
नागरिकलाई स्वास्थ्य सेवा प्रदान गर्न स्वास्थ्य बीमा कार्यक्रमलाई थप प्रभावकारी बनाउन प्रथम सेवा बिन्दुको रूपमा रहने गरी स्वास्थ्य सेवा केन्द्रको विस्तार गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । त्यस्तै, महानगरभित्रका कार्यरत स्वास्थ्यकर्मीहरूलाई आवश्यकताका आधारमा क्षमता अभिवृद्धिसम्बन्धी कार्यक्रम सञ्चालन गरिने भएको छ ।

महानगरभित्र स्थायी रूपमा बसोबास गर्ने ६८ वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकलाई निमोनिया रोग विरुद्धको खोप दिने व्यवस्थालाई पनि निरन्तरता दिने भएकाे छ । यसैगरी नगरभित्रका नागरिकलाई गुणस्तरीय र पहुँच योग्य स्वास्थ्य सेवा प्रदान गर्न स्वास्थ्य नीति लागू गर्ने नीतिमा उल्लेख छ । 

फागुन महिनामा नसर्ने रोग परीक्षण महिना ललितपुर महानगरले फागुन महिनालाई नसर्ने रोग परीक्षण महिनाको रुपमा व्याख्या गर्दै अभियान संचालन गर्ने भएको छ । नीति तथा कार्यक्रममा मधुमेह, उच्च रक्तचाप, मुटुसम्बन्धी रोग, क्यान्सर, मोटोपन जस्ता नसर्ने रोग न्यूनीकरणका लागि ‘मेरो स्वास्थ्य मेरो जिम्मेवारी’ नाराका साथ यो अभियान संचालन गर्ने नीतिमा उल्लेख छ ।

महानगरले शारीरिक अपाङ्गता भएका व्यक्तिहरुलाई फिजियोथेरापी सेवा प्रदान गर्न आवश्यक व्यवस्थापन गरिने उल्लेख गरेको छ । सरकारी कार्यालयहरू, सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने बैंक, व्यापारिक मलहरू, निजी र सामुदायिक विद्यालयहरुको साथै सबै वडा कार्यालयहरूको भौतिक संरचना अनुगमन गरी अपाङ्गतामैत्री बनाउन सुझावसहितको प्रतिवेदन तयार गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । 

त्यस्तै, सरोकारवाला निकाय, अभिभावक तथा महिला स्वास्थ्य स्वयमसेविका लगायतको समन्वय र सहकार्यमा बौद्धिक अपाङ्गता तथा अटिज्म भएका व्यक्तिहरूको यर्थाथपरक विवरण संकलन गरिने भएको छ ।  अटिज्मको क्षेत्रमा रोवा सुविधा सहजरूपमा उपलब्ध गराउन कार्यविधि निर्माण गरिने उल्लेख छ ।
महानगरले अटिज्म तथा अपाङ्गता भएका व्यक्तिहरूलाई महानगरपालिकाले सञ्चालन गर्ने जेष्ठ नागरिकसँग महानगर सम्बन्धी स्वास्थ्य सेवा कार्यक्रममा आवद्ध गराइने भएको छ ।  अटिज्म भएका व्यक्तिहरूलाई निःशुल्क थेरापी सेवा उपलब्ध गराउने व्यवस्था मिलाइने भएको छ । 

Share News