सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप जारी, तेस्रो दिन एमेच्योर राहुललाई एकल अग्रता

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२४-२५ को अन्तिम प्रतियोगिता सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको तेस्रो दिन एमेच्योर खेलाडी राहुल विश्वकर्माले एकल अग्रता बनाएका छन् ।

समग्रमा १६-अन्डर २ सयको स्कोरमा राहुलले साविक विजेता तथा भारतीय गल्फ टुर खेलिरहेका सुबाश तामाङलाई एक स्ट्रोकले पछि पारे। राहुलले आज ६-अन्डर ६६ स्कोर गरे ।

पहिलो दिनका संयुक्त लिडर सुबाशले आज बोगी रहित ५-अन्डर ६७ को स्कोर जोडे । समग्रमा उनले १५-अन्डर २ सय १ स्कोर बनाएका छन् । एमेच्योर सदभाव आचार्यले बुधबार ५-अन्डर ६७ को नतिजा निकाले । समग्रमा १३-अन्डर २ सय ३ स्कोरका साथ उनी तेस्रो स्थानमा छन् ।

समग्रमा ११-अन्डर २ सय ५ को स्कोरमा निरज तामाङ र भुवन नगरकोटी संयुक्तरुपमा चौथो स्थानमा रहे । भुवनले आज दिनकै उत्कृष्ट ८-अन्डर ६४ को स्कोर दर्ज गरे । निरजले ४-अन्डर ६८ मा खेल पुरा गरे ।

भुटानका निम दोर्जी तामाङ समग्रमा ८-अन्डर २ सय ८ सहित छैटौं स्थानमा छन् । उनले आज २-अन्डर ७० खेले । उनी एमेच्योरतर्फ भने तेस्रो स्थानमा छन् । समग्रमा ७-अन्डर २ सय ९ सहित दिनेश प्रजापति सातौं स्थानमा रहने क्रममा आज ४-अन्डर ६८ को नतिजा निकाले ।

समग्रमा ३-अन्डर २ सय १३ सहित शुक्र बहादुर राई, सञ्जय लामा र रबि खड्का आठौं स्थानमा रहे । आज शुक्रले ३-अन्डर  ६९, सञ्जयले २-अन्डर ७० र रबिले १-अन्डर ७१ को स्कोर बनाए ।

लिडर राहुलले आज फ्रन्ट नाईनमा बोगी रहित ५-अन्डर ३१ को उत्कृष्ट प्रदर्शन गरे । उनले पहिलो देखि तेस्रो तथा छैटौं र सातौं होलमा गरी कुल ५ बर्डी प्रहार गरे । यसपछि ११औं होलमा १ सट खेर फाल्दा १५औं र १८औं होलको बर्डीले ब्याक नाइन १-अन्डर ३५ मा सकाए ।

सुबाशले फ्रन्ट नाइनमा ३-अन्डर ३३ र ब्याक नाइनमा २-अन्डर ३४ खेले । यो क्रममा उनले  तेस्रो, चौथो, नवौं, बार्हौं र तेर्हौ होलमा बर्डीको सफलता प्राप्त गरे ।

सदभावले दोस्रो, तेस्रो, सातौं र नवौं होलको बर्डीले फ्रन्ट नाइन ४(अन्डर ३२ मा सकाए । यसपछि ११औं होलमा डबल बोगी खेपे । तर लगत्तै १२औं होलमा इगलको सफलता प्राप्त गरे भने १८औं होलको बर्डीले ब्याक नाइन १-अन्डर ३५ मा सकाए ।

नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसनद्वारा आयोजित चार दिने प्रतियोगितामा हालसम्मकै सर्वाधिक १६ लाख नगद पुरस्कार राशी रहेको छ । विजेताले उपाधि सहित ३ लाख नगद पुरस्कार प्राप्त गर्नेछन् । दोस्रो हुने खेलाडीले १ लाख ८५ हजार, तेस्रोले १ लाख २५ हजार, चौथोले १ लाख ५ हजार  र पाँचौं हुनेले ९२ हजार रुपैयाँ हात पार्नेछन् । शीर्ष २१ भित्र रहने सबै प्रोफेसनल खेलाडी नगद पुरस्कारको हकदार बन्नेछन् ।

चार दिने प्रतियोगितापछि असार ७ गते (शनिबार) प्रो-एम प्रतियोगिता हुनेछ । जहाँ २५ जना प्रोफेसनल र १०० जना कर्पोरेटस्तरका एमेच्योर खेलाडीले भाग लिनेछन् ।

Share News