'नक्कली महानगर’ बसको नाममा ठगी : यात्रु अलमल, कम्पनी संकटमा

काठमाडौं । ‘महानगर यातायातको नाम, रंग, डिजाइन र आकार नक्कल गरेर सोही रुटमा बस सञ्चालन गरिएको भन्दै कम्पनीले कडा आपत्ति जनाएको छ ।

बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत कम्पनीले यात्रुहरू झुक्याउने, दुर्घटना गराउने र प्रतिष्ठामा आँच पुर्याउने घटनामा नक्कली बस संलग्न रहेको गुनासो सार्वजनिक गरेको हो ।

महानगर यातायातले जारी गरेको विज्ञप्तिमा उल्लेख छ कि नक्कली बसका कारण यात्रुहरूले झोला छुटाउने, गन्तव्य नपुग्ने, अप्ठ्यारो पर्ने जस्ता समस्यामा परेका छन् । साथै नक्कली बसले पैदल यात्रीलाई ठक्कर दिएर भागेपछि पीडितले सक्कली 'महानगर यातायात'को कार्यालयमा उजुरी दिने गरेका छन्, जसले संस्थालाई अनावश्यक झन्झटमा पार्ने गरेको जनाइएको छ ।

'एउटै नाम र रंगका बसले सोही रुटमा चल्दा यात्रु मात्र होइन, हामी सञ्चालकहरू पनि हैरान भएका छौं,' कम्पनीका एक प्रतिनिधिले भने ।

यस्ता गम्भीर समस्याहरूका बाबजुद सम्बन्धित निकायमा पटक-पटक ध्यानाकर्षण गराउँदा समेत कुनै कारबाही नहुनु प्रति कम्पनीले गम्भीर चिन्ता व्यक्त गरेको छ ।

नक्कली बसले गराएका दुर्घटनाहरूमा वास्तविक तथ्य पत्ता लागे पनि गाडी नचिनिँदा पीडितहरू न्यायबाट वञ्चित हुने गरेका छन् । यसले न त कम्पनीको प्रतिष्ठामाथि न त यात्रुको सुरक्षामाथि भरोसा बाँकी राखेको छ ।

महानगर यातायातले प्रहरी प्रशासन, यातायात कार्यालय र विभागमा पटक-पटक उजुरी दिए पनि समस्या समाधानको पहल नहुनु दुःखद भएको जनाएको छ । कम्पनीले सम्बन्धित निकायहरूलाई तत्काल कदम चाल्न पुनः आग्रह गर्दै, यदि सुधार नभए कानुनी बाटो रोज्ने चेतावनी समेत दिएको छ ।

null

 

Share News