एसईई नतिजा असार तेस्रो साता सार्वजनिक हुने, उत्तरपुस्तिका परीक्षण अन्तिम चरणमा

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा असारको तेस्रो साता सार्वजनिक गर्ने तयारी गरेको छ ।

नियमित तालिका अनुसार असार पहिलो साता नै नतिजा सार्वजनिक हुने तय थियो । तर, गत चैत २० गतेदेखि २९ दिनसम्म शिक्षकहरूले गरेको मूल्यांकन बहिष्कारका कारण उत्तरपुस्तिका परीक्षण ढिला भइ नतिजा सार्वजनिक मिति पछाडि धकेलिएको हो ।

‘शिक्षकहरूको आन्दोलनले परीक्षण प्रक्रियामा ढिलाइ भयो । अब तेस्रो साताभन्दा अगाडि नतिजा आउन सम्भव छैन’, परीक्षा नियन्त्रक डा. गणेशप्रसाद भट्टराईले बताए ।

उनका अनुसार अहिले उत्तरपुस्तिका परीक्षण अन्तिम चरणमा पुगेको छ । ‘बिहानदेखि बेलुकासम्म कर्मचारी खटाइएको छ । केही स्थानमा अझै परीक्षण भइरहेकाले ती काम सकिएपछि इन्ट्री, रुजु र त्रुटि सच्याएर नतिजा प्रकाशित गर्नेछौं’, उनले स्पष्ट पारे ।

एसईई परीक्षा चालु वर्षको चैत ७ गतेदेखि सञ्चालन भएको थियो । परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ तथा ग्रेडवृद्धितर्फ ६७ हजार ७१५ विद्यार्थी सहभागी भएका थिए । कुल परीक्षार्थी संख्या ४ लाख ९९ हजार १८३ रहेको बोर्डले जनाएको छ ।

Share News