काठमाडौं । ललितपुर महागनरका प्रमुख चिरीबाबु महर्जनले महिला उद्यमीहरूलाई सहयोग गर्न सधै तत्पर रहेको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित ‘चौथो उद्यमी महिला सम्मेलन’ कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
प्रमुख महर्जनले महानगरले महिला उद्यमीहरूलाई निरन्तर साथ र सहयोग गर्दै आएकोमा आगामी दिनमा पनि निरन्तर सहकार्य गर्ने प्रतिबद्धता जनाए ।
उनले ललितपुर महानगर नेपालकै जेष्ठ पालिका हुनुका साथै महानगरले गर्ने हरेक ‘शो केस’ रूपमा बन्दै गएको र बनाउने प्रयास जारी रहेको उल्लेख गरेका छन् ।
प्रमुख महर्जनले ललितपुर महानगरपालिका धेरै विषय र क्षेत्रको आधारमा एक मात्रै उत्कृष्ट नगरपालिका भनेर सम्मानित र तारिफ पाउने गरेको बताए ।
उनले भने, ‘हामी संस्कृति र सम्पदामा उत्कृष्ट छौं, सहरलाई हरियाली बनाउने प्रयास गरेका छौं । महानगर सफा पनि छ । यसैले हाम्रो महानगरलाई धेरैले प्रशंसासमेत गर्नुहुन्छ ।’
प्रमुख महर्जनले यतिले मात्रै नपुग्ने भएकाले महिला उद्यमी कार्यक्रमबाट पनि ललितपुरलाई उत्कृष्ट भन्न सक्ने वातावरण बनाउन सबैले प्रयास गर्नुपर्ने उल्लेख गरे ।
‘संस्कृति, कला, हस्तकलामा ललितपुर महानगर प्रख्यात छ तर यो विश्लेषणले मात्रै पुग्दैन । आगामी दिनमा महिला उद्यमीले उत्पादन गरेको प्रडक्ट राम्रो छ भन्ने सुन्न पाऊँ हाम्रो महागनरमा हस्तकला मात्रै हैन, अरू पनि धेरै कुरा छ है भन्न सकूँ’, उनले भने ।
त्यस्तै, उनले उद्यमीले उत्पादन गर्ने वस्तुको गुणस्तरमा विशेष ध्यान दिनुपर्ने बताए।
प्रमुख महर्जनले अहिलेको जमाना प्रतिस्पर्धी जमाना भएकाले हरेक उद्यमी प्रतिस्पर्धामा जानैपर्ने र त्यसको लागि तयारी हुनुपर्ने औंल्याए ।
‘हामी अहिले बजेट बनाउने तयारीमा छौं, महिला उद्यमीको लागि के-के विषय समेटिनुपर्छ, तपाईंहरूले सल्लाह, सुझाव दिनुभयो हामी त्यसलाई समेट्ने प्रयास गर्ने छौं,’ उनले भने ।
कार्यक्रममा महानगरका प्रमुख प्रशासकीय अधिकृत रेखादास श्रेष्ठले महिला उद्यमीको सफलता व्यक्तिको मात्रै नभएर परिवार र सिंगो समाजको सफलता भएको बताइन्। उनले महिला उद्यमीहरुको लागि महानगरले निरन्तर लगानी गर्दै आएको बताइन् ।
श्रेष्ठले महिलाहरूको लागि विभिन्न सीपमूलक तालिम सञ्चालन गर्दै आएको र आगामी दिनमा त्यसलाई निरन्तरता दिने उल्लेख गरिन् ।
उनले भनिन्, ‘हामीले उद्यमी महिलाको सीप र व्यक्तित्व विकासको लागि आवश्यक तालिमहरू सञ्चालन गर्दै आएका छौं, तालिमसँगै प्रविधिको हस्तान्तरण समेत गर्दै आएका छौं ।’
यसका साथै महिलालाई आवश्यक पुँजी, बीउको समेत व्यवस्था गर्दै आएको उनले सुनाइन् ।
त्यस्तै, उनले दिगो र प्रभावकारी रूपमा महिलाहरूलाई कसरी जोड्न सकिन्छ, महिलालाई कसरी प्रवर्द्धन गर्न सकिन्छ भनेर सम्मेलनको आयोजना गरेको प्रस्ट्याइन् । त्यस्तै, महिला उद्यमीको समस्या र आवश्यकता बुझ्न पनि सम्मेलनको आयोजना गरेको बताइन् ।
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालको उद्यम क्षेत्रमा महिला उद्यमीको महत्त्वपूर्ण भूमिका रहेको बताए । उनले महिलाहरूले उत्पादन गरेको वस्तुको उत्पादन वृद्धिमा पालिकाको प्रमुख भूमिका रहने औंल्लाए ।
उनले आजको चुनौती वस्तु उत्पादन वृद्धि र रोजगारी सिर्जना भएको हुँदा आयातलाई प्रतिस्थापन गर्दै निर्यातलाई वृद्धि गर्नुपर्ने आवश्यकता रहेको बताए । सरकारले पनि पछिल्लो समय आयात घटाउँदै लगेको र निर्यात वृद्धिमा जोड दिएको उनको भनाइ थियो ।
मन्त्री भण्डारीले महानगरभित्रका महिलाले उत्पादन गरेका वस्तुको बजारीकरणमा स्थानीय स्तरले नै सहयोग गर्दिनुपर्ने बताए ।
उनले भने, ‘ललितपुर महानगरभित्रका महिला उद्यमीहरूले उत्पादन गरेको कपडा महागरका प्रमख, उपप्रमुखदेखि कर्मचारीहरूले हप्तामा तीन दिन लगाऔं ।’