इरान-इजरायल युद्धले अडानीको अरबौंको लगानी जोखिममा

काठमाडौं । इरान र इजरायलबीचको लडाइँ झन् चर्किँदै गएको छ । शनिबार इरानले इजरायलको तटीय सहर हाइफालाई लक्षित गरी धेरै ब्यालेस्टिक मिसाइल प्रहार गर्यो । हाइफा इजरायलको ठूलो बन्दरगाह हो जहाँ भारतीय अर्बपति गौतम अडानीले ठूलो लगानी गरेका छन् । 

साथै हाइफा इजरायलको ठूलो समुन्द्री सैनिकको आधारशिविर पनि हो । यहाँ तेल रिफाइनरी र धेरै रासायनिक कारखाना पनि छन् । इजरायलको सबैभन्दा ठूलो तेल रिफाइनरी हाइफा बे क्षेत्रमा अवस्थित छ । इरानले इजरायलका तेल रिफाइनरीहरू र हाइफास्थित आधारशिविरमा हमला गरेको छ ।

अडानी ग्रुपले इजरायलमा ठूलो मात्रामा लगानी गरेको छ । हाइफा पोर्टसँगै समूहले रक्षा क्षेत्रमा पनि लगानी गरेको छ । अडानी ग्रुपले संयुक्त लगानीमा इजरायलको हाइफा पोर्ट खरिद गरेको थियो । सन् २०५४ सम्म यो पोर्ट सञ्चालन गर्ने जिम्मेवारी अडानी ग्रुपलाई दिइएको छ । 

पोर्टको ७० प्रतिशत हिस्सेदारी अडानी पोर्ट्ससँग छ भने बाँकी ३० प्रतिशत हिस्सेदारी इजरायलको रसायनिक र लजिस्टिक कम्पनी गाडोटसँग छ । सोमबार अडानी ग्रुपका सेयरमा यसको प्रभाव देखिन सक्ने अनुमान गरिएको छ ।

अडानीको हाइफा पोर्टमा धेरै खालका जोखिम छन् । जस्तै कार्गो ढिलाइ हुन सक्छ र जहाजहरूको मार्ग परिवर्तन गर्नुपर्ने अवस्था आउन सक्छ । अघिल्लो पटक इजरायलको दक्षिणी भागमा लडाइँ भइरहेकाले उत्तरी भागको हाइफालाई सुरक्षित मानिन्थ्यो । तर यस पटक इरानले हाइफालाई नै निशाना बनाएको छ । यदि लडाइँ लामो समयसम्म चल्यो भने पूरै भूमध्यसागरको व्यापार मार्ग प्रभावित हुन सक्छ । यसले कारोबार र सामग्री ढुवानीमा समस्या ल्याउन सक्छ ।

 कति छ हिस्सेदारी ?

अडानी ग्रुपको हाइफा पोर्ट इजरायलमा सबैभन्दा महत्त्वपूर्ण लगानी हो । अडानी पोट्र्सले २०२३ मा इजरायलको गाडोट ग्रुपसँग मिलेर १।२ अर्ब डलरमा यसको ७० प्रतिशत हिस्सेदारी खरिद गरेको थियो । यसले अडानी पोर्ट्सको वार्षिक कार्गो भोल्युममा करिब ३ प्रतिशत योगदान पुर्याउँछ । 

यो इजरायलको आयात र निर्यातका लागि अत्यन्तै महत्त्वपूर्ण छ । यसअघि पनि यस क्षेत्रमा तनाव बढ्दा अडानी पोर्ट्सका सेयर घटेका थिए र जहाजहरूको आवतजावतमा समस्या आएको थियो । विज्ञहरूका अनुसार यहाँ लामो समयसम्म तनाव रहिरहेमा अडानी ग्रुपलाई ठूलो क्षति हुन सक्छ । 

Share News