केदारनाथबाट फर्कँदै गरेको हेलिकप्टर दुर्घटना हुँदा ७ जनाको मृत्यु

दिल्ली । भारतको उत्तराखण्ड राज्यको रुद्रप्रयाग जिल्लामा आइतबार बिहान हेलिकप्टर दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । उत्तराखण्ड एसडीआरएफले यस दुर्घटनामा सात जनाको मृत्यु भएको पुष्टि गरेको हो।

हेलिकप्टर श्री केदारनाथ धामबाट यात्रुहरूलाई फर्काएर आफ्नो गुप्तकाशी बेसतर्फ ल्याउँदै थियो । सोही क्रममा दुर्घटना भएको थियो ।  उक्त हेलिकप्टरमा छ जना वयस्क र एक शिशु सवार थिए ।

दुर्घटनामा पाँच तीर्थयात्री, पाइलट र बद्रीनाथ-केदारनाथ मन्दिर समितिका एक कर्मचारीको मृत्यु भएको हो ।

एक्कासि मौसम बिग्रिएकाले हेलिकप्टर दुर्घटना भएको बताइएको छ । हेलिकप्टर बिहान करिब साढे पाँच बजे केदारनाथबाट गुप्तकाशीका लागि उडेको र केहीबेरमै दुर्घटनाग्रस्त भएको हो । 

दुर्घटनास्थल गौरीकुण्डभन्दा करिब ५ किलोमिटर माथि ‘गौरी माई खरक’ भनेर चिनिने क्षेत्रमा पर्छ ।

स्रोतका अनुसार आर्यन एभियसन प्रालिको उक्त हेलिकप्टर गौरीकुण्ड र त्रिजुगीनारायण बीचको केदारघाटी क्षेत्रमा खसेर आगो लागेको हो ।

मृत्यु हुनेहरूमा महाराष्ट्रका श्रद्धा राजकुमार जैसवाल ९३५०, महाराष्ट्रकै काशी ९२०, गुजरातका राजकुमार सुरेश जैसवाल ९४१०, उत्तराखण्डका विक्रम सिंह रावत, उत्तर प्रदेशकी विनोद देवी ९६६०, उत्तर प्रदेशकी तुष्टि सिंह ९१९० र पाइलट क्याप्टेन राजवीर सिंह चौहान रहेका छन् ।

मुख्यमन्त्री पुष्कर सिंह धामीले एक्समार्फत एक पोस्ट गर्दै राज्य विपद् प्रतिकार्य बल र अन्य निकायहरू उद्धार तथा राहत कार्यमा खटिएको बताएका छन् ।

यसअघि मे ८ मा गंगोत्रीधाम जाँदै गरेको हेलिकप्टर उत्तरकाशी जिल्लामा दुर्घटना हुँदा छ जनाको मृत्यु भएको थियो ।

जुन ७ मा केदारनाथ जाँदै गरेको अर्को हेलिकप्टर प्राविधिक समस्या आएपछि उडेको केहीबेरमै सडकमा आपतकालीन अवतरण गर्नु परेको थियो । 

Share News