बैंकिङ क्षेत्र सुधारका लागि उपसमिति गठन राष्ट्र बैंकको ऐतिहासिक पहल : सिबिफिन

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले नेपाल राष्ट्र बैंकद्वारा हालै गठन गरिएको बैंकिङ क्षेत्र सुधारसम्बन्धी उपसमितिलाई स्वागत गरेको छ ।

सिबिफिनले गभर्नरको विशेष पहलमा बैंकिङ क्षेत्रका संरचनात्मक समस्या र चुनौतीहरूको गहिरो अध्ययन गर्दै ठोस सुझाव पेश गर्ने उद्देश्यले राष्ट्रियस्तरमा गठन गरिएको यस उपसमितिलाई 'नेपालको बैंकिङ इतिहासमै एक ऐतिहासिक कदम' को रूपमा व्याख्या गरेको छ ।

सिबिफिनका अनुसार गभर्नरले समसामयिक बैंकिङ समस्याको जडसम्म पुग्न, व्यवस्थापन र सुपरिवेक्षणलाई थप प्रभावकारी बनाउन, अघिल्ला नीतिहरुको समीक्षा गर्दै वर्तमान वित्त नीतिलाई समयसापेक्ष मौद्रिक नीतिमा रूपान्तरण गर्न थालेका पहलहरू मुलुकलाई आर्थिक सुधार र दिगो विकासको दिशामा लैजान मद्दत गर्नेछन् ।

उपसमितिमा केन्द्रीय बैंक बाहिरका प्रतिष्ठित विषयविज्ञहरू, निजी क्षेत्रका अनुभवी प्रतिनिधिहरू समेत समावेश गरिएको उल्लेख गर्दै सिबिफिनले यसले नियामकीय सुधार, प्रणालीगत परिवर्तन र नीति निर्माणमा बलियो आधार तयार गर्ने विश्वास व्यक्त गरेको छ ।

सिबिफिनले उपसमितिका अध्ययन, अनुसन्धान, संवाद र सुझाव प्रक्रियामा पूर्ण समन्वय र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै राष्ट्र बैंकले अघि सारेका दीर्घकालीन योजनाहरूको कार्यान्वयनमा पनि आफू अभिन्न साझेदारको भूमिकामा रहने स्पष्ट पारेको छ ।

Share News