काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले सर्वोदय परियोजना, समावेशी अक्षर र अनुसन्धानसँगको सहकार्यमा दृष्टिविहीन व्यक्तिहरूलाई लक्षित गर्दै विशेष वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ ।
शनिबार काठमाडौंका विभिन्न स्थानमा रहेका ४० जना भन्दा बढी दृष्टिविहीन सहभागी रहेको कार्यक्रममा बचतको महत्व, बजेट निर्माण, आर्थिक अनुशासन, डिजिटल कारोबार तथा साइबर सुरक्षा जस्ता विषयमा जानकारी दिइएको थियो । कार्यक्रमको नेतृत्व बैंकका ब्राण्डिङ तथा सीएसआर विभाग प्रमुख सुशिल पौडेलले गरेका थिए ।
कार्यक्रममा सहभागी दृष्टिविहीन कृष्ण खत्री अविरलले वित्तीय जानकारीको अभावमा विगतमा बैंकिङ सेवाबाट वञ्चित हुनुपरेको अनुभव सुनाउँदै अब भने आफैँ बैंकिङ सेवा प्रयोग गर्ने आत्मविश्वास जागेको बताए। अर्का सहभागी बिक्रम पथरियाले सानो बचतले ठूलो सम्भावना बोकेको अनुभूति भएको बताए ।
सर्वोदय परियोजनाका सौगात वाग्ले, जो स्वयं दृष्टिविहीन छन्,ले मोबाइल बैंकिङ, एटीएम कार्ड लगायतका सेवाहरू दृष्टिविहीनहरूले पनि समान रूपले उपयोग गर्न पाएकोमा कामना सेवा विकास बैंकलाई धन्यवाद दिएका थिए ।
कामना सेवा विकास बैंकले दृष्टिविहीन व्यक्तिहरूलाई लक्षित गर्दै ‘स्वाभिमान बचत खाता’ सञ्चालनमा ल्याएको छ । यो खातामार्फत दृष्टिविहीन ग्राहकले अतिरिक्त कागजात वा साक्षीको आवश्यकता बिना नै खाता खोल्न सक्ने छन् । साथै, खातासम्बन्धी जानकारी ब्रेल लिपीमा उपलब्ध गराउने व्यवस्था गरिएको बैंकले जनाएको छ ।