काठमाडौं । त्रिभुवन विश्वविद्यालयका आंशिक प्राध्यापकहरूले उपकुलपति, रेक्टर, रजिस्ट्रार तथा सेवा आयोगको कार्यालयमा तालाबन्दी गरेका छन् । आंशिक प्राध्यापक संघका अध्यक्ष गोकुल लिम्बूका अनुसार छ बुँदे माग राख्दै शुक्रबार बिहानदेखि तालाबन्दी गरिएको हो ।
प्राध्यापक संघले त्रिविले ल्याएको ‘फास्ट ट्र्याक’ नामक नयाँ पदपूर्तिप्रति आपत्ति जनाउँदै तालाबन्दी गरेको जनाएको छ । त्रिविले अनुसन्धानात्मक विशिष्टताको आधारमा १०० जना उप-प्राध्यापकको विज्ञापन खुलाएकोमा संघले लेखित परीक्षा विना अन्तर्वार्तामार्फत पदपूर्ति गर्न खोजिएको भन्दै असन्तुष्टि व्यक्त गरेको हो ।
'फास्ट ट्र्याकको नाममा लिखित परीक्षा बिना नै अन्तर्वार्ताका भरमा नियुक्ति दिने नियत देखिएकोले यो असंवैधानिक र विभेदपूर्ण प्रक्रिया तुरुन्त खारेज हुनुपर्छ,' अध्यक्ष लिम्बूले बताए ।
संघले हाल रिक्त रहेको दरबन्दी र आगामी ६ महिनामा सेवा निवृत्त हुने शिक्षकहरूको संख्या समेटी ५ हजार २०३ पदमा प्रतिस्पर्धामार्फत विज्ञापन खुलाउनुपर्ने माग अघि सारेको छ ।
यस मागको दबाबस्वरूप आंशिक प्राध्यापक संघले शुक्रबारदेखि त्रिविको सबै शीर्ष प्रशासनिक कार्यालयमा तालाबन्दी गरेको जनाएको छ ।