एसईई अब प्रदेशमै हुने प्रस्ताव

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) प्रदेशस्तरमै सञ्चालन गर्ने प्रस्ताव अघि सारेको छ ।

विद्यालय शिक्षा विधेयकमाथि प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छलफलका क्रममा मन्त्रालयले उक्त प्रस्ताव राखेको हो । कक्षा १० उत्तीर्णपछि विभिन्न शैक्षिक धारमा जाने विद्यार्थीका लागि परीक्षा प्रणाली र मूल्यांकन मापदण्डमा एकरुपता आवश्यक भएकाले एसईईलाई कायम राख्दै त्यसलाई प्रदेशमार्फत सञ्चालन गर्ने तयारी गरिएको मन्त्रालयको निष्कर्ष छ ।

‘कक्षा दशको अन्तिम परीक्षा (एसईई) प्रदेशस्तरमा हुनेछ,’ मन्त्रालयको प्रस्तावमा उल्लेख छ ।

प्रस्तावअनुसार एसईई परीक्षा परीक्षा बोर्डको समन्वयमा र सम्बन्धित प्रदेश शिक्षा कार्यालयको संयोजनमा सञ्चालन हुनेछ । यसअघि मूल विधेयक र उपसमितिको प्रतिवेदनमा एसईईको प्रावधान उल्लेख गरिएको थिएन ।

Share News