विपदजन्य घटनाको प्रतिकार्य तयारीका लागि तहगत सरकार र संयन्त्रको समन्वय जरुरी : उपप्रमुख डंगोल

काठमाडौं । काठमाडौं महानगरका उपप्रमुख सुनिता डंगोलले विपदजन्य घटनाको प्रतिकार्य तयारी, खोज उद्धार र पुनःस्थापनाका लागि तहगत सरकार र संयन्त्रको समन्वय जरुरी रहेको बताएकी छिन् ।

महानगर प्रहरी र सशस्त्र प्रहरी बल नेपाल २४ गुल्म हेडक्वाटरको संयुक्त आयोजनामा रानीपोखरीमा मनसुनजन्य विपद प्रतिकार्यका लागि कृतिम घटना व्यवस्थापन कार्यक्रममा उनले सो बताएकी हुन् । 

उक्त कार्यक्रममा डंगोलले महानगरपालिकाले यो दायित्व पूरा गराउन नीति, योजना तथा कार्यक्रम र बजेटको व्यवस्था गरेर काम गरिरहेको बताइन् ।

उनले नागरिकका आँगनमै रहेकोले विपदजन्य घटनामा सबैभन्दा पहिलो सम्पर्क हुने सरकारको निकाय स्थानीय तह भएको बताउँदै विपद्जन्य घटना व्यवस्थापनको दायित्व पूरा गर्न बजेटको व्यवस्था गर्ने बताएकी हुन् ।

‘तहगत सरकारका बिचमा समन्वय र सहकार्य संविधानको मर्म हो । आजको कृतिम अभ्यास यसको उदाहरण हो,’ उनले भनिन्, ‘गएको वर्षको पानीजन्य विपदले पाठ सिकाएको छ । त्यस समयमा गरिएको सिकाइलाई आधार मानेर दक्षता बढाउनु पर्छ । सम्भावित प्रकोप व्यवस्थापन गर्न तयारी अवस्थामा रहनुपर्छ ।’

कार्यक्रममा सशस्त्र प्रहरी बलका वरिष्ठ उपरीक्षक सुरेशकुमार श्रेष्ठले साझेदारका बीचमा भएको स्रोत, सीप र क्षमतालाई एकीकृत गरेर विपद्को सामनालाई प्रभावकारी बनाउन सकिन्छ भन्ने आजको कार्यक्रमले दिएको सन्देश रहेको बताए ।

पूर्वतयारी एक पटक गरेर सकिने काम होइन । यसलाई नियमित गरिरहनु पर्ने उनको भनाइ थियो ।

अभ्यासमा पानीमा डुबेको व्यक्तिलाई डोरीको मद्दतले उद्धार गर्ने, ढुङ्गा तथा अन्य स्थानीय स्तरमा उपलब्ध स्रोत साधनको उपयोग गर्ने, उद्धारकर्ता पौडेर गएर बचाउने, खहरेमा परेको व्यक्तिलाई बचाउने, ढुङ्गा पल्टियो भने त्यसलाई व्यवस्थापन गर्ने, पानीबाट उद्धार गरिएको व्यक्तिलाई प्राथमिक स्वास्थ्योपचार गर्ने, आवश्यकताका आधारमा अस्पताल लैजाने अभ्यास गरिएको थियो । यसका लागि महानगर प्रहरी बल, नेपाल प्रहरी र सशस्त्र प्रहरीका एक-एक वटा ढुङ्गाको प्रयोग गरिएका थिए ।

गएको वर्ष जल उत्पन्न प्रकोपले काठमाडौंमा जनधनको क्षति गरेको थियो । यस वर्ष औसतभन्दा धेरै बर्षा हुने अनुमान गरिएको छ । यसबाट आउन सक्ने बाढी र डुबानजस्ता विपदबाट जनधनको क्षति घटाउन अभ्यास गरिएको हो । महानगरपालिकाले १ जना नगर प्रहरी निरीक्षक, १६ जना नगर प्रहरी हवल्दार र ३ जना नगर प्रहरी जवान गरी २० जनालाई जलजन्य विपद व्यवस्थापन प्रतिकार्यको तालिम दिएको छ । 

Share News