हबिबलाई बाहिरिन गभर्नरको ‘ग्रिन सिग्नल’, मूल्य १७.२ रुपैयाँ घटाइयो

काठमाडौं । लामो समयदेखि सेयर बिक्री गरेर हिमालयन बैंकबाट बाहिरिन खोजिरहेको पाकिस्तानको हबिब बैंकले पुनः सुरुदेखि नै प्रक्रिया थालेको छ । यसअघि पटक-पटक सरोकारवालासँग औपचारिक तथा अनौपचारिक छलफल गरेर सेयर खरिद बिक्रीको कुरा गर्दै आएको हबिबले यस पटक बैंकलाई सूचना नै निकाल्न लगाएर पुनः सुरुदेखि नै औपचारिक प्रक्रिया अगाडि बढाएको हो । 

शुक्रबार बैंकले सेयर खरिदको सूचना निकालेको छ । हबिबले हिमालयन बैंकमा रहेको १२.९३ प्रतिशत अर्थात् २ करोड ८० लाख १२ हजार ४४७ कित्ता सेयर बिक्रीमा राखेको छ । बैंकको उक्त सेयरको मूल्य न्यूनतम प्रतिकित्ता ११२.८० रुपैयाँ तोकिएको छ । सो मूल्यका आधारमा ३ अर्ब १५ करोड ९८ लाख ४ हजार ७२ रुपैयाँ बराबरको सेयर बिक्री गरेर हबिब बैंक बाहिरिने भएको हो ।

नेपाल राष्ट्र बैंकले जारी गरेको एकीकृत निर्देशन २०८१ को निर्देशन नं. १० बमोजिम संस्थापक सेयर खरिद गरी लिन पहिलो प्राथमिकता संस्थापक सेयरधनीहरूलाई दिनुपर्नेछ । सोही व्यवस्था अनुसार उक्त सेयर खरिदका लागि हिमालयन बैंकका विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै आवेदन दिन पाउने छन् । तर, ३५ दिनभित्र संस्थापक सेयरधनीहरूले सेयर खरिद नगरेमा सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरिने बैंकले जनाएको छ । 

उसो त हिमालयन बैंकले सिभिल बैंकलाई गाभ्नुअगावै पनि सेयर खरिदको लागि सूचना निकालेको थियो । तर, पछि नेपाल राष्ट्र बैंकले सेयर खरिद बिक्रीको अनुमति नदिएपछि प्रक्रिया नै रोकिएको थियो । 

हिमालयन बैंकमा रहेको हबिबको सेयर खदिरका लागि हिमालयन रिइन्स्योरेन्स खरिद गर्न तयार रहेको चर्चा पनि भएको थियो । हबिबले सेयर खरिदका लागि विदेशी खरिदकर्ता नपाएपछि स्वदेशी खरिदकर्ता अर्थात् हिमालयन रिइन्स्योरेन्सलाई तयार पारेको थियो । 

‘राष्ट्र बैंकले सेयर खरिद गर्ने भए विदेशी खरिदकर्ता चाहिन्छ भनेको थियो, हामीले पाएनौं, त्यसपछि स्वदेशी खरिदकर्ता हिमालयन रिइन्स्योरेन्सलाई तयार पारेका थियौं। तर, राष्ट्र बैंकले त्यसलाई पनि अनुमति नदिएपछि प्रक्रिया रोकिएको थियो,’ हिमालयन बैंक स्रोतले भन्यो । 

स्वदेशी खरिदकर्ता पाएपनि त्यसको फिट एण्ड प्रोपर टेष्ट तथा क्षमतामाथि नियामक नेपाल राष्ट्र बैंकले प्रश्न उठाएको थियो । हबिबले हिमालयन रि-इन्स्योरेन्सलाई सेयर बिक्री गरेर बाहिरिन चाहेको भन्दै स्वीकृतिका लागि २०८० मंसिर १४ गते राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागमा निवेदन दर्ता भएको थियो ।

हबिब बैंक र हिमालयन रिइन्स्योरेन्सबीच बैंकको संस्थापक सेयर प्रतिकित्ता १ सय ३० रुपैयाँमा खरिदबिक्री गर्ने गरी सम्झौता भएको थियो । तर, अहिले मूल्य घटाएर राखिएको छ । २०८० मंसिरमा १३० रुपैयाँमा सेयर खरिद बिक्रीका लागि हबिब र हिमालयन रिइन्स्योरेन्स तयार भएका थिए । तर, अहिले प्रतिसेयर मूल्य ११२.८० रुपैयाँ राखिएको छ । 

यसअघि राष्ट्र बैंकले सेयर खरिद बिक्रीको आवश्यक प्रक्रिया पूरा नभएको भन्दै रोकेको थियो । अहिले पुनः प्रक्रिया सुरु भएको हो । 

हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणाले राष्ट्र बैंकले सुरुवाती चरणबाटै प्रक्रियामा आउन निर्देशन दिएपछि सूचना जारी गरेको बताए । ‘हामीलाई फेरि सुरुवाती चरणबाटै प्रक्रियामा आउन भनियो, हामीले सोहीअनुसार सूचना निकालेका हौं, अब अन्तिमममा खरिद बिक्रीको लागि स्वीकृति दिने/नदिने काम राष्ट्र बैंकको हो,’ उनले भने । 

उनले यसअघि हिमालयन रि र हबिबबीच प्रतिकित्ता १३० रुपैयाँमा सम्झौता भए पनि अहिले मूल्य घटेको बताए । उनले यसको कारण र तर्क भने दिएनन् । ‘मूल्य घट्ने/घटाउने भन्ने विषय बिक्रेता र खरिदकर्तामा निभर्नर हुने विषय हो, यो हामीलाई थाहा हुँदैन,’ उनले भने । 

हिमालयन बैंकको सञ्चालक समितिले हबिबको सेयर खरिद बिक्रीको प्रक्रिया अगाडि बढाउने सम्पूर्ण जिम्मेवारी उच्च व्यवस्थापनलाई दिएको बैंकका एक सञ्चालकले बताए । ‘हामीले सेयर खरिदबिक्रीको सम्पूर्ण टाक्सफोर्स व्यवस्थापनलाई दिएका छौं, अहिले राष्ट्र बैंकले केही ग्रिन सिग्नल दिएकै कारण प्रक्रिया अगाडि बढेको होला,’ हिमालयन बैंकका एक सञ्चालकले भने ।

विश्व महामारीका रूपमा फैलिएको कोरोना भाइरसअघि नै बैंक नेपालबाट बाहिरिने योजना हबिबले बनाइरहेको थियो । तर, त्यसबेला राष्ट्र बैंकले स्वीकृति नदिने संकेत पाएपछि हबिब हच्कियो । बैंकले बाहिरिन खोजेपछि यसअघिका गभर्नर महाप्रसाद अधिकारीले हबिब बैंकका अधिकारीहरूलाई पाकिस्तानमा पनि भेटेका थिए । एउटा कार्यक्रममा सहभागी हुन पाकिस्तान पुगेका अधिकारीले त्यतिबेला हबिबका अधिकारीहरूसँग भेटेर हिमालयनबाट नबाहिरिन आग्रह गरेका थिए ।

अधिकारीले विदेशी बैंकको अभ्यास नेपाली बैंकमा अहिले पनि आवश्यक रहेकोले सेयर बिक्री नगर्न हबिबलाई अनुरोध गरेको बुझिएको थियो । सेयर बिक्री नै गर्ने भएपनि अन्तर्राष्ट्रिय खरिदकर्ता ल्याउनु पर्ने सर्त उनले राखेका थिए । 

गभर्नर अधिकारीको उक्त आग्रहपछि हबिबले विदेशी खरिदकर्ता पनि खोजेको थियो । हबिबले बेलायतको कमनवेल्थ डेभलपमेन्ट कर्पोरेसन ग्रुप (सीडीसी) ले सेयर खरिद गर्ने सम्झौता गरेको थियो । तर, पछि विषय बिचमै रोकियो । त्यसपछि हबिबले संस्थापक सेयरधनीलाई आग्रह गरेपनि कुनै पनि संस्थापक सेयरधनी सेयर खरिद गर्न तयार भएनन् । अहिले हबिबलाई सेयर खरिद गराउनका लागि राष्ट्र बैंकका नवनियुक्त गभर्नर विश्वनाथ पौडेलले ग्रिन सिग्नल दिएपछि बैंकले प्रक्रिया सुरु गरेको हो । 

Share News