काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले बीमा ऐन र प्राधिकरणबाट जारी भएका नीति निर्देशनहरू कार्यान्वयनमा व्यवस्थापनलाई जिम्मेवार बनाउन र सशक्त भूमिका निर्वाह गर्न बीमा कम्पनीका संचालक समितिका अध्यक्ष तथा सदस्यहरूलाई निर्देशन दिएका छन् । बीमा प्राधिकरणको आयोजनामा जीवन बीमा कम्पनीका संचालक समितिका अध्यक्ष तथा सदस्यहरूसँग बीमा सम्बन्धी समसामयिक विषयमा छलफल एवं अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओझाले बीमा व्यवसायको विस्तारका लागि आमजनतालाई लक्षित गरी नयाँ-नयाँ बीमालेख ल्याउन निर्देशन दिए ।
अध्यक्ष ओझाले भने, ‘बाध्यकारी बीमाको दायराबाट बाहिर ननिस्किएसम्म बीमा बजार विस्तार हुन सक्दैन । बचतमा आधारित बीमामा केन्द्रित नभई टर्म इन्स्योरेन्स र नयाँ नयाँ जोखिम बहन गर्नेखालका बीमामा जानुपर्छ, नयाँ विकास गरिएका बीमालेखलाई शीघ्र स्वीकृति दिन प्राधिकरण तयार छ ।’
बीमा कम्पनीको लगानी विविधीकरणका लागि थप क्षेत्र खोल्न प्राधिकरण तयार रहेको उल्लेख गर्दै अध्यक्ष ओझाले बीमा कम्पनीले गर्ने लगानी जनताको पैसा रहेको र लगानी गर्दा जिम्मेवारी पूर्वक गर्नुपर्ने बताए । लगानी सुरक्षित र दिगो लाभमा आधारित हुनुपर्ने, लगानी उपयुक्त छ/छैन भनेर संचालक समितिले हेर्नुपर्ने र बीमकका लगानी शाखालाई थप जिम्मेवार बनाउनु पर्ने उनको भनाइ छ ।
कानून बमोजिम बीमा व्यवसायको विकास एवं विस्तारका लागि सहजीकरण गर्न र गुनासो नआउने गरी सेवा प्रवाह गर्न प्राधिकरण प्रतिवद्ध रहेको उल्लेख गर्दै अध्यक्ष ओझाले अस्वस्थ प्रतिस्पर्धा नगर्न, स-साना विषयमा पनि हस्तक्षेप गर्नुपर्ने अवस्था आउन नदिन, तोकिएकै समयमा वित्तीय विवरण बुझाउन र बीमा बजारलाई विधि बमोजिम संचालन गर्न बीमकका संचालक समितिका पदाधिकारीहरूको ध्यानाकर्षण गराए ।
अध्यक्ष ओझाले लागत नबढ्ने र सहज हुने गरी बीमा क्षेत्रमा नेपाल वित्तीय प्रतिवेदन मान-१७ (एनएफआरएस) लागू गर्न आवश्यक सहजीकरण गर्ने जानकारी दिए । बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीले बीमा व्यवसायको प्रवर्द्धन र बीमितको हित रक्षाका लागि प्राधिकरणले नियामकीय भूमिका सँगसँगै सहजकर्ताको समेत भूमिका निर्वाह गर्दै आएको बताए ।
प्राधिकरणका उपनिर्देशक हृदयेश्वर पण्डितले बीमकमा संस्थागत सुशासन कायम गर्न संचालक समितिको भूमिका र उपनिर्देशक विरोध वाग्लेले बीमकको वित्तीय विवरण, वित्तीय अवस्था र लगानी विविधीकरणका सम्बन्धमा संचालक समितिको भूमिका सम्बन्धी छुट्टा छुट्टै प्रस्तुति दिएका थिए ।