टेकअफको क्रममै हुन्छन् धेरै विमान दुर्घटना, ६ वर्षमा ८१३ दुर्घटना हुँदा १५०० भन्दा बढीको मृत्यु

काठमाडौं । भारतको गुजरात राज्यको अहमदाबादमा एयर इन्डियाको यात्रुबाहक विमान टेकअफ गर्ने क्रममा दुर्घटनाग्रस्त भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । विमान दुर्घटना हुँदा २ किलोमिटर टाढासम्म बाक्लो धुवाँ देखिएको थियो । लन्डन जानका लागि टेकअफ गर्ने क्रममा विमान नजिकको बस्ती क्षेत्रमा खसेको हो । 

विमानमा क्रू सदस्यसहित २४२ जना सवार थिए । मृत्यु हुनेको संख्या भने खुल्न सकेको छैन । भारतीय पत्रिका दैनिक भास्करका अनुसार दुर्घटनास्थलबाट ५० जनाको शव भने निकालिएको छ ।

एयर इन्डियाको उक्त जहाजले गुजरात राज्यको अहमदाबादस्थित सरदार वल्लभ भाइ पटेल अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भरेको थियो । २४२ जना यात्रुमध्ये १६९ जना भारतीय नागरिक, ५३ जना ब्रिटिश नागरिक, १ क्यानडेली नागरिक र ७ पोर्चुगलका नागरिक थिए ।

अनुमान गरिएको छ कि एयरपोर्टबाट टेकअफ गरेलगत्तै एयर इन्डियाको बोइङ  एआई- सेभेन्टीन वानको इन्जिन फेल भयो । पाइलटसँग निर्णय लिनको लागि मात्र १ मिनेट समय थियो, तर विमान अत्यधिक होचो उचाइमा हुँदा रुखमा ठोक्किएको थियो ।

विमानको पछाडिको भाग ठोक्किएपछि आगो लागेको अनुमान गरिएको छ । यद्यपि यसबारे जाँच भइरहेको छ ।

टेकअफको क्रममा सबैभन्दा धेरै विमान दुर्घटना

हरेक वर्ष सयौं विमान दुर्घटना भए पनि हवाई यात्रा सबैभन्दा सुरक्षित मानिन्छ । पछिल्ला ७ वर्षमा औसतमा हरेक वर्ष २०० विमान दुर्घटनाहरू भएका छन् । एभीएसन सेफ्टीका अनुसार टेकअफ र ल्यान्डिङको क्रममा सबैभन्दा धेरै दुर्घटना हुने गर्छन् । 

२०२३ मा १०९ दुर्घटनामध्ये ३७ टेकअफ र ३० ल्यान्डिङको बेला भएका थिए । एयर इन्डियाको यो दुर्घटना पनि टेकअफको क्रममा नै भएको हो । वास्तवमा टेकअफ वा ल्यान्डिङकै बेला प्रायस् इन्जिन फेल हुने गर्छ ।

६ वर्षमा ८१३ विमान दुर्घटना, १५०० भन्दा बढीको ज्यान गयो

एविएसन सेफ्टी संस्थाको तथ्यांकअनुसार सन् २०१७ देखि २०२३ सम्म विश्वभर ८१३ विमान दुर्घटना भइसकेका छन्। तीमध्ये १,४७३ यात्रुले ज्यान गुमाएका थिए । सबैभन्दा धेरै दुर्घटना ल्यान्डिङको बेला हुने गरेका छन् । ती सात वर्षमा ल्यान्डिङको बेला २६१ दुर्घटना भएका थिए भने २१२ उडानको क्रममा । यस अवधिमा भारतमा १४ वटा विमान दुर्घटना भएका छन् ।

पाइलटको गल्ती- सबैभन्दा ठूलो कारण

डब्ल्यूकेडब्ल्यू डटकममा प्रकाशित रिपोर्ट अनुसार पाइलटको गल्ती नै सबैभन्दा ठूलो दुर्घटनाको कारण हो । पाइलटले लामो तालिम, यान्त्रिक ज्ञान र हात-आँखाको तालमेलसहित सुरक्षित उडान सुनिश्चित गर्नुपर्ने हुन्छ । उडान योजना, मौसमको मूल्यांकन र सम्भावित परिवर्तनको अनुमान गर्नु पाइलटका लागि अनिवार्य हुन्छ । युरोपियन ट्रान्सपोर्ट सेफ्टी काउन्सिल अनुसार ९० प्रतिशत विमान दुर्घटना प्राविधिक समस्याका कारण हुन्छन् ।

खराब मौसममा पाइलट भ्रमित

पाइलटले उडान योजना राम्रोसँग नगरेको, खराब मौसममा फसेको वा समस्याको अनुमान गर्न नसकेको अवस्थामा दुर्घटना हुन सक्छ । कहिलेकाहीं बादलमा उडान गर्दा पाइलट आईएफआरअन्तर्गत भ्रमित हुन सक्छन्, जसले विमानको नियन्त्रण गुमाउने सम्भावना बढाउँछ ।

क्रू सदस्यहरूको ककपिटमा हुने गल्ती

ठूला विमानहरूमा ककपिट रिसोर्स म्यानेजमेन्ट अत्यन्तै महत्त्वपूर्ण हुन्छ । यो अन्तर्गत कामको विभाजन, सञ्चार र आत्मविश्वासपूर्ण निर्णय प्रक्रियाको तालमेल आवश्यक पर्छ। यदि ककपिट रिसोर्स म्यानेजमेन्ट कमजोर भयो भने दुर्घटना सम्भावना उच्च हुन्छ ।

एयर ट्राफिक कन्ट्रोलरको लापरबाही

एयर ट्राफिक कन्ट्रोलरले हवाई यातायातको सुरक्षित सञ्चालनमा महत्वपूर्ण भूमिका खेल्छन् । यदि कन्ट्रोलरले गलत सूचना दिए वा उचाइको व्यवस्थापन नगरे, टक्कर हुनसक्छ । दुर्घटनापछि एटीसी डाटालाई छिटो संकलन गर्नु आवश्यक हुन्छ ।

मौसम पनि एउटा मुख्य कारण

मौसम विमान दुर्घटनाको ठूलो कारक हो । मौसमको जानकारी पायलट र एयर ट्राफिक कन्ट्रोल दुबैको जिम्मेवारी हो। यदि गलत जानकारी वा योजना बिना उडान भयो भने दुर्घटना सम्भव हुन्छ ।

विमानको खराब मर्मतसम्भार

विमानको मर्मतसम्भार कडाइका साथ गरिनुपर्छ । एफएआर अनुसार आवश्यक निरीक्षणको पालना आवश्यक हुन्छ । दुर्घटनापछि विमानमा यान्त्रिक समस्या थियो कि थिएन भन्ने बुझ्न जाँच अत्यावश्यक हुन्छ ।

डिजाइनमा समस्या

विमानको इन्जिन, पंख, उपकरण आदि राम्रोसँग डिजाइन नभए दुर्घटना हुनसक्छ । यस्तो डिजाईन उत्पादनमा पठाउनु अगाडि परीक्षण गर्नु जरुरी हुन्छ । खराब डिजाइनले दुर्घटना निम्त्याउन सक्छ ।

आईएफआर र भीएफआर भनेको के हो ?

भीएफआरमा पाइलटले बाह्य दृश्यको आधारमा उडान गर्छन्, जबकि आईएफआरमा ककटपिट उपकरणहरूमा निर्भर हुनुपर्छ । 

आईएफआर उडानका लागि पायलटले उपकरण जस्तै अल्टिमिटर, एअरस्पीड, हेडिङ इन्डिकेटर आदिको प्रयोग गर्छन् । यी बुझ्नाले दुर्घटनाको कारण पत्ता लगाउन सजिलो हुन्छ ।

जीपीएस पनि कारण हुनसक्ने

बादल लागेको अवस्थामा ल्यान्डिङ गर्न आईएलएस वा जीपीएस अप्रोच आवश्यक हुन्छ । यदि ग्लाइड स्लोप पथ पालना भएन भने टक्करको सम्भावना हुन्छ । आईएफआर तालिमले यस जोखिमलाई कम गर्छ ।

बर्ड स्ट्राइकको असर

ट्राभल राडरअनुसार विश्वभर दैनिक १५० बर्ड स्ट्राइकको औसत छ । अमेरिका मात्रैमा बर्सेनि १४ हजारजति बर्ड स्ट्राइक हुन्छन् । २०१६-२०२१ का बीच २ लाख ७३ हजार बर्ड स्ट्राइकको घटना रिपोर्ट भएका छन् । अनुमान गरिन्छ कि ८० प्रतिशत बर्ड स्ट्राइक रिपोर्ट नै हुँदैनन् ।

Share News