काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को निमित्त प्रबन्ध निर्देशकमा सविना मास्के नियुक्त भएकी छन् ।
नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जेठ २८ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार उनलाई सोही दिनको नियुक्तिपत्रमार्फत कम्पनीको निमित्त प्रबन्ध निर्देशक तोकिएको हो ।
यसअघि मास्के टेलिकमको नायब प्रबन्ध निर्देशकका रूपमा प्रमुख प्राविधिक अधिकृतको जिम्मेवारी सम्हाल्दै आएकी थिइन् । अब उनले निमित्त प्रबन्ध निर्देशकको कार्यभार औपचारिक रूपमा सम्हालेकी छन् ।
मास्केले चीनको डालियान मेरीटाइम युनिभर्सिटीबाट बीई गरेकी छन् । उनी २०४९ माघ २५ मा तत्कालीन नेपाल दूरसञ्चार संस्थानमा अस्थायी इन्जिनियर पदबाट सेवामा प्रवेश गरेकी थिइन् भने २०५१ फाल्गुन १० मा स्थायी नियुक्ति पाएकी हुन् ।
२०७८ माघ १८ मा नायब प्रबन्ध निर्देशकमा पदोन्नति भएकी मास्केले विषम परिस्थितिमा आफूप्रति गरिएको विश्वासलाई साकार पार्दै टेलिकमको प्रगतिका लागि सबैको साथमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेकी छन् ।