महालक्ष्मी नगरपालिका र शान्तिनगर गाउँपालिकाको केन्द्र परिवर्तन

काठमाडौं । नेपाल सरकारले दुई स्थानीय तहको केन्द्र परिवर्तन गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ललितपुरको महालक्ष्मी नगरपालिका र दाङको शान्तिनगर गाउँपालिकाको केन्द्र परिवर्तन गर्ने निर्णय गरेको हो ।

महालक्ष्मी नगरपालिकाको केन्द्र वडा नम्बर ४ को कमलपोखरीमा रहेकोमा अब परिवर्तन गरी ८ नम्बर वडाको लुभु देवीस्थानमा हुने भएको छ । दाङको शान्तिनगर गाउँपालिकाको केन्द्र वडा नम्बर ४ को चिराघाटबाट ४ नम्बरकै जुम्लेकुला कायम हुने भएको छ । 

स्थानीय तहको नाम र केन्द्र परिवर्तन गर्नुपर्ने भएमा संघीय सरकारबाट अनुमति लिनुपर्ने व्यवस्था छ । त्यही अनुसार मन्त्रिपरिषद्को निर्णयले दुई पालिकालाई केन्द्र परिवर्तन गर्ने अनुमति दिएको हो । 

Share News