काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले आगामी नेपाल मोबिलिटी एक्सपो २०२५ का लागि स्टल बाँडफाँड सम्पन्न गरेको छ। एक्सपो साउन २१ देखि २५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुनेछ।
नाइमाकी अध्यक्ष रितु सिंह वैद्यका अनुसार, यस वर्षको संस्करणमा कुल ४८ स्टल तोकिएको छ, जसमा २१ वटा चार पाङ्ग्रे सवारी ब्रान्ड, १८ वटा दुई पाङ्ग्रे सवारी ब्रान्ड र ९ वटा व्यावसायिक सवारी साधन ब्रान्ड रहनेछन्।
वैद्यले भनिन्, ‘नेपालको अटोमोबाइल उद्योगका प्रमुख ब्रान्डहरूको सक्रिय सहभागिता अत्यन्त उत्साहजनक छ। सम्पूर्ण स्टलहरू बुक भइसकेका छन् र अब हामी सफल कार्यान्वयनमा केन्द्रित भएका छौं।’
वैद्यका अनुसार, नेपालमा मोबिलिटी क्षेत्रको दिगो विकासका लागि नीति निर्माणदेखि अन्तर्राष्ट्रिय तहसम्म सक्रिय पैरवी गर्दै आएको छ। एक्सपोले परम्परागत प्रदर्शनीको ढाँचाबाट अलग, नवीनतम प्रस्तुति र प्रविधिमार्फत उपभोक्ता तथा व्यवसायीहरूलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ।
सहभागी ब्रान्डहरूमा चार पाङ्ग्रे सवारी ब्रान्डहरूतर्फ बीवाइडी, सिट्रोएन, फोर्थिङ, ग्रेट वाल मोटर्स, हेनरी भोल्ट्स, हुन्डाई, काइयी, केआईए, लीपमोटर, एलइभी १, महिन्द्रा, म्याक्सस, माज्दा, एमजी, मित्सुबिशी, निसान, ओमोडा र जेको, प्यूजो, प्रोटोन, रेनो, टोयोटा, फोक्सवागन तथा जीकर रहेका सभागी हुने छन् ।
यस्तै दुई पाङ्ग्रेतर्फ एम्पेयर, एथर, बजाज, बेनेली, सिएफमोटो, गोगोरो, होन्डा, केटीएम, महिन्द्रा, एनआईयू, रिभोल्ट, रोयल इनफिल्ड, सेगवे–नाइनबोट, सुजुकी, ट्रायम्फ, टीभीएस, अल्ट्राभायोलेट, याडिया, जिहोलगायत ब्राण्ड सहभागी हुने नाइमाले जनाएको छ भने व्यावसायिक सवारी साधन ब्रान्डहरू चेरी वान्डा, डोङफेङ, फ्यारीजोन, हुआजी, कामा, क्यारी, किङलङ तथा सनलङ सहभागी हुने बताइएको छ ।
नाइमाले सहभागी सम्पूर्ण ब्रान्डप्रति आभार व्यक्त गर्दै, आम सर्वसाधारणलाई एक्स पो मा सहभागी भई आगामी मोबिलिटी प्रविधिबारे जानकारी लिन सबैलाई आग्रह गरेको छ ।