काठमाडौं । लक्ष्मी स्टील्स लिमिटेडले गत चैतमा अंकित मूल्य १ सय रुपैयाँमा १६५ रुपैयाँ थप गरी प्रतिकित्ता २६५ रुपैयाँका दरले २० लाख कित्ता सेयर बिक्रीमा राख्यो । उक्त प्रिमियम मूल्यका आधारमा कम्पनीले ५३ करोड रुपैयाँ सेयर बिक्रीबाट पुँजी संकलन गर्न खोजेको थियो । तर, संस्थापक सेयरधनीहरूले ३ लाख ८६ हजार ७९२ कित्ता सेयर मात्रै त्यसपछि बाँकी रहेको १६ लाख १३ हजार २०८ कित्ता सेयर कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुलायो । उक्त सेयर खरिद गर्यो एनआइएमबि एस क्यापिटलले सञ्चालन गरिरहेको एनआइबिएल इक्विटी पार्टनर्सले ।
सनराइज होल्डिङ्गस् लिमिटेडले जेठ २३ गतेदेखि १४ लाख कित्ता सेयर बिक्रीमा राखेको छ, प्रिमियम मूल्यमा । कम्पनीले अंकित मूल्य १ सय रुपैयाँमा ५० रुपैयाँ थप गरी प्रतिकित्ता १५० रुपैयाँमा १४ लाख कित्ता सेयर बिक्रीमा राखेको हो । प्रिमियम मूल्य सहित कम्पनीले २१ करोड रुपैयाँ संकलन गर्दैछ ।
प्रभु हेलिकप्टरले गत मंसिरमा अंकित मूल्य १ सय रुपैयाँमा ५० रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता १५० रुपैयाँ सेयर बिक्रीमा राख्यो । कम्पनीले जारी पुँजीमध्ये २० लाख ९५ हजार कित्ता सेयर बिक्रीमा राखेको थियो ।
सेयर बिक्रीमा राखेका यी माथिका केही उदाहरण मात्रै हुन् । पछिल्लो समय आईपीओ निष्काशनको सूचीमा रहेको भन्दै कम्पनीको सेयर बिक्री गर्ने परिपाटी बढ्दो देखिन्छ । सेयर बजारका लागि लगानीकर्ता पनि प्रिआईपीओमा आकर्षित भइरहेको सेयर जानकारहरू बताउँछन् ।
‘आईपीओ आउने धेरै कम्पनी छन् । सूचीकृत भएपछि ती कम्पनीको सेयर मूल्य १५ सय २ हजार, २५ सय रुपैयाँसम्म पुग्छ । दोस्रो बजारमा सूचीकरण भएको तीन वर्षपछि लकइन अवधिमा रहेको सेयर पब्लिकमा कन्भर्ट भइहाल्छ । त्यसपछि प्रमोटर र पब्लिक सेयर कारोबार एउटै मूल्यमा बिक्री गर्न मिल्छ । राम्रो मूल्यमा बिक्री हुने भएकाले आईपीओ आउनु अगाडि नै लगानी गर्ने बढेका छन्,’ स्टक ब्रोकर एसोसिएसन अफ नेपालका पूर्वअध्यक्ष सन्तोष मैनालीले भने ।
उनका अनुसार दोस्रो बजारका लगानीकर्ताहरू प्रिआईपीओमा आकर्षित भइरहेका छन् । धेरैले आफैसँग भएको रकम अथवा बैंकबाट लिएको ऋण त्यहाँ डाइभर्ट गरिरहेको उनको भनाइ छ । त्यसकारण सधैं ब्याजदर घट्दा दोस्रो बजारमा छिर्नुपर्ने पैसा कम मात्रै छिरेर धेरै पैसा प्रिआईपीओमा लगानी भइरहेको उनले बताए ।
‘विगतमा सूचीकृत कम्पनीको संख्या कम हुँदा बैंक तथा बीमा कम्पनीको बाहुल्यता थियो । अहिले म्यानुफ्याक्चरिङ र जलविद्युत कम्पनीको डोमिनेन्ट्स छ । यी क्षेत्रको सेयर तीन वर्षपछि लकिङ खुल्छ । र, लकिङ खुलेपछि प्रमोटरले सेयर बिक्री गर्छन्,’ उनले भने, ‘सेयर बिक्री गरेर त्यो रकम सेयर बजारमै लगानी नगरी अन्य क्षेत्रमा लगानी गरिरहेका छन् । अन्य उद्योग वा प्रोजेक्ट चलाउन लगानी सेयर बजारको रकम प्रयोग भइरहेको छ । त्यो रकम बजारमा फर्किँदैन । त्यसरी पनि ठूलो रकम पुँजी बजारबाट बाहिरी रहेको छ ।’
मर्चेन्ट बैंकर्स एसोसिएसन अफ नेपालका अध्यक्ष रामेन्द्र रायमाझी विगतमा आफूले सूचीकृत नभएका कम्पनीमा लगानी गर्न पाउनुपर्ने भनेर धारणा राख्ने गरेको भएपनि पछिल्लो समय भने यो क्षेत्रमा धेरै जोखिम बढिरहेको बताउँछन् ।
‘आजभन्दा एक/दुई वर्ष अगाडि पोर्टफोलियोमा सूचीकृत नभएको कम्पनी हुनुपर्छ भनेर मैले वकालत गर्थेँ । अब चाहिँ यसले संकटको रुप लिन्छ कि भन्ने डर लागेको छ । किनभने सबैभन्दा बढी जोखिम प्रिआईपीओको बजार छ । विदेशमा दोस्रो बजारभन्दा आईपीओ बजारमा जोखिम बढी हुन्छ भनिन्छ,’ उनले भने, ‘अब हाम्रो सन्दर्भमा पनि प्रिआईपीओको बजारमा जोखिम बढ्दै गएको छ । किनभने दोस्रो बजार टेस्टेड हो । त्यहाँ मान्छेले धेरै लगानी गरिसकेका हुन्छन् ।’
उनका अनसार दोस्रो बजारमा गएपछि ४/५ सय रुपैयाँ पुग्छ, अनि बेच्छु भन्ने हिसाबले प्रिआईपीओमा लगानी गरिरहेका छन् । तर, जोखिम हेरेको छैन, रिवार्ड मात्रै हेरेको छ । त्यो कम्पनी भोलिका दिनमा आईपीओमा गएन भने के हुन्छ ? जसरी सेबोनले अहिले विभिन्न प्यारामिटर्स ल्याएको छ, भोलिका दिनमा त्यस्ता कम्पनीका लागि आईपीओमा जान नदिने भन्यो भने उसको लगानी त्यही दिन सकिने उनको भनाइ छ ।
‘यो निजी विषय रहेकाले यसको आकार ठ्याक्कै कत्रो छ भन्न सकिँदैन । ट्रयाकिङ म्यानेजमेन्ट नभएकाले ठ्याक्कै थाहा पाउन पनि गाह्रो छ । मर्चेन्ट बैंकले मात्रै नभएर आफ्नै तरिकाले पनि किनबेच गर्ने गरेका छन्,’ उनले भने, ‘बजारको पैसा प्रिआईपीओमा गएपछि बजारमा पैसा अभाव भएको सत्य हो । आईपीओ आएका कम्पनीको सेयर मूल्य १ हजार, २ हजार, २५ सय पुग्छन् । त्यसपछि आईपीओ बजार ठिक रहेछन् भनेर उनीहरू प्रिआईपीओमा आकर्षित हुन थाले ।’
एनएमबि क्यापिटलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपेश वैद्य प्राइभेट इक्विटी भेञ्चर क्यापिटल (पीईभीसी)को लगानी गर्ने क्षेत्र नै प्रिआईपीओ रहेको बताउँछन् । प्रिआईपीओ पनि पुँजी बजारकै पार्ट भएकाले संस्थापक लगानी गरेर कारोबार भइरहेको उनको भनाइ छ ।
‘प्रिआईपीओ र पोस्टआईपीओ भन्नु मात्रै हो । पुँजी बजारले दुइटैलाई समेट्छ । पुँजी संकलनको स्रोत हो पुँजी बजार । पुँजी बजारबाट बाहिर गएको भन्ने होइन तर, कुन स्टेजमा आउने भन्ने परिवर्तन भएको हुन सक्छ । दोस्रो बजारमा ५ सय रुपैयाँमा पाउने सेयर प्रिआईपीओ १ सय रुपैयाँमा भइरहेको हुन्छ । मूल्यमा भिन्नता हुनु हुँदैन,’ उनले भने ।
उनका अनुसार आईपीओभन्दा अगाडिको बजारमा लगानी हुने गर्छ । कुनै पनि कार्य गर्न पुँजी चाहिने भएकाले पुँजी आईपीओ पछि आउने की आईपीओ अगाडि आउने विकल्प रहने उनको भनाइ छ । लगानी गर्ने भन्ने बित्तिकै जुनसुकै कम्पनीमा पनि लगानी गर्नु राम्रो नरहेको उनको भनाइ छ । स्टक मार्केटमा सूचीकृत भएपछि ५/१०/१५ सय रुपैयाँ हुनैपर्छ भन्ने हिसाबले लगानी भइरहेकाले त्यो लगानी फस्ने सम्भावना हुने उनको भनाइ छ ।
‘कोही मान्छेले विभिन्न ठाउँमा लगानीको विकल्प पाउनु राम्रो हो । स्टक मार्केटमा महँगोमै किन्नु पर्ने, उच्च मूल्यमा किन्नु भन्दा अन्य क्षेत्रमा पनि लगानी गर्न पाउनुपर्छ,’ उनले भने, ‘मूल्य बढी हाल्छ नी भन्ने हिसाबले लगानी गर्ने वातावरण जोखिम रहेको छ । प्रोजेक्ट नबुझीकन आईपीओ भनेपछि लगानी गर्ने वातावरण छ । पुँजीको हिसाबले जहाँ भ्यालू देख्छ, त्यहीँ जाने हो । त्यसले पुँजी बजारलाई नराम्रो गर्दैन ।’