सफल उद्यमीको सहयात्रा : पृथक पार्टीका खम्बा, व्यवसायमा दोस्ती

काठमाडौं । नेपाली व्यावसायिक क्षेत्रमा दुइटा यस्ता पात्र छन्, जसको नाम लिइएन भने त्यो क्षेत्र नै अधुरो र अपूरो हुन्छ । जसका कथा र कहानी आर्थिक विकासमा वर्णन गरिएन भने ती कथा र कहानीहरू पनि अपूर्ण बन्छन् । हामीले विदेशी अर्बपतिहरूका कथामा पाउने स्वाद, रस, संघर्ष र सफलता तिनै पात्रहरूमा पनि भेटाउँछौं । ती दुई पात्र र उद्यमी हुन्- मीनबहादुर गुरुङ र उमेश श्रेष्ठ ।

लिटिल एन्जल्सको साँघुरो कक्षाकोठाबाट सुरु भएको उमेशको शैक्षिक साम्राज्य र एउटा खुद्रा व्यापारबाट सुरु भएको मीनबहादुरको भाटभटेनीको भयानक व्यापार पक्कै पनि तारिफयोग्य, वर्णनयोग्य र अनुशरणयोग्य छ । नेपाली सुपरमार्केट व्यवसायमा मीनबहादुर पर्यायवाची बनेका छन् भने शैक्षिक व्यवसायमा उमेशले पृथक किसिमको ‘कोर्ष क्रिएट’ गरेका छन् ।  

नेपालको व्यावसायिक क्षेत्रमा पृथक पहिचान बनाउन सफल यी दुई पात्र अब एउटै पथमा हुनेछन् । अर्थात् अब लगानी गर्ने ठूला व्यावसायिक योजना तथा परियोजनामा उमेश र मीनबहादुर सँगसँगै हुनेछन् । 

अहिले दुवै उद्यमीले अर्बपतिको पहिचान बनाएका छन् । दान, दक्षिणा र आर्थिक सहयोगमा पनि उदार हृदय भएका यी दुईको सुरुवाती व्यावसायिक जीवन पनि एकैखाले छ । एउटा सामान्य परिवारमा जन्मिएका उनीहरूले आफ्नै मिहिनेत र संघर्षबाट अर्बपति बन्न सफल भए । 

विसं. २०३७ सालमा ६५ जना विद्यार्थी र पैँसट्ठी हजार रुपैयाँको पुँजीमा लिटिल एन्जल्स स्कुल सुरु गरेका उमेश आज एक दर्जन शैक्षिक संस्थाका मालिक छन् । ती शैक्षिक संस्थामा १७ हजार बढी विद्यार्थी र १५ सय बढी कर्मचारी छन् । 

उनले शिक्षासँगै होटल, जलविद्युत, कृषि, जडिबुटी, बैंक र घरजग्गा लगायतका सयभन्दा बढी कम्पनीमा लगानी गरेका छन् । उनी व्यवसायसँगै राजनीतिमा पनि सफल पात्रका रूपमा चित्रण गरिन्छन् । अहिले नेपाली कांग्रेसको कोषाध्यक्षको जिम्मेवारीमा पनि उनी छन् । 

अहिले उमेशले सुरु गर्ने हरेक नयाँ परियोजनामा सहयात्रीका रूपमा देखिएका छन् व्यवसायी मीनबहादुर पनि । उनीहरू एक अर्काले सुरु गर्ने नयाँ परियोजनामा व्यावसायिक साझेदारका रूपमा देखिने गरेका छन् । 

मीनबहादुरले पनि भाटभटेनी सुपरमार्केटको सफलतामार्फत छोटो समयमै नेपाली अर्बपतिको छवि बनाए । ३५ हजार रुपैयाँको सानो व्यापारबाट सुरु भएको भाटभटेनीका अहिले देशभर २७ वटा डिपार्टमेन्टल स्टोरहरू सञ्चालनमा छन् । जसले करिब ५ हजार जनालाई रोजगारी दिएको छ भने वार्षिक ३० अर्ब रुपैयाँ बढीको कारोबार गर्दै आएको छ ।

मीनबहादुर गुरुङ

अहिले उनी भाटभटेनीको विस्तारसँगै घरजग्गा, स्वास्थ्य, ब्रोकर, हाउजिङ, गार्मेन्ट तथा हस्पिटालिटी क्षेत्रमा पनि प्रवेश गरेका छन् ।

व्यवसायमा साझेदारी

विगतमा एक्लाएक्लै व्यवसाय गर्ने गुरुङ र श्रेष्ठले अहिले भने एकपछि अर्को नयाँ परियोजनामा साझेदारी गरिरहेका छन् । त्यसको सुरुवातको मोड भने पृथक छ ।

व्यवसायमा चाहेको सफलता मिलेपछि उमेशले सक्रिय राजनीतिमा लाग्ने योजना बनाए । त्यही सिलसिलामा उनले २०७९ को प्रतिनिधिसभाको निर्वाचनमा चितवन क्षेत्र न.२ बाट प्रत्यक्षमा चुनाव लड्ने तयारी गरे । चुनाव प्रचार-प्रसारको क्रममा गाउँगाउँमा पुगे । किसानहरूका समस्या सुने । अधिकांशको एउटै गुनासो थियो, ‘कृषि उत्पादन भए पनि बजार पाइएन ।’

उनले अब आफू पनि कृषि गर्ने र अरूको कृषिजन्य सामग्री पनि खरिद गर्ने योजना बुने । त्यसपछि बजार बुझ्न उनी चितवनका गाउँगाउँ सँगै कर्णालीका जुम्ला, हुम्ला, सुदूरपश्चिमको बझाङ र दार्चुला, बागमतीको दोलखा र पूर्वको ताप्लेजुङसम्म पुगे । सबै ठाउँको एउटै समस्या कृषिजन्य सामग्रीले बजार नपाएको निष्कर्ष निकाले । 

‘मैले बजार खोज्नुपर्छ भन्ने सोचें, त्यसका लागि एकचोटि ठूलो परिमाणमा वस्तु सप्लाई हुनुपर्ने थियो, त्यही सिलसिलामा भाटभटेनीसँग कुरा गरे‌ं, भाटभटेनीका मीनबहादुरजीले पनि कृषिजन्य वस्तु भाटभटेनीले खरिद गर्ने सहमति जनाउनुभयाे,’ श्रेष्ठले भने । 

nullउमेश श्रेष्ठ

त्यहीँबाट सुरु भएको हो मीनबहादुर र उमेशको व्यावसायिक दोस्ती । अब उनीहरूले थप व्यावसायिक साझेदारी गर्ने योजना बनाए । गर्ने के भन्ने अलमल थियो । त्यही बेला दरबारमार्गमा रहेको अन्नपूर्ण होटलको सेयर बिक्री गर्ने कुरा दुवैले सुने । र, अब त्यहाँ पनि उनीहरू दुवै जना सेयर खरिद गरेर होटल सञ्चालन गर्ने भए । 

उनीहरू दुवै जनाको अहिले सो होटलमा बहुमत सेयर छ । २५ तले अन्नपूर्ण स्क्वायरको अहिले निर्माण कार्य भइरहेको छ । ६ अर्ब रुपैयाँभन्दा बढी लगानी लाग्ने अनुमान गरिएको यो परियोजनामा ६ हजार जना क्षमताका ठूला हलहरू, ४० वटा अपार्टमेन्ट र ३३० वटा कोठाहरू रहने बताइएको छ । 

होटलमा लगानीपछि उनीहरूको दोस्ती थप प्रगाढ बन्यो । अब उनीहरूले चितवनमा अत्याधुनिक कोल्ड स्टोर निर्माण गर्ने योजना अगाडि सारे । त्यसमा अन्य लगानीकर्तालाई पनि भित्र्याए । करिब २ अर्ब रुपैयाँ लगानी हुन सक्ने अनुमान गरिएको यो परियोजना ७२ हजार स्क्वायरफिट क्षेत्रफलमा फैलिने छ । 

यसलाई चितवनको कृषि उत्पादनका लागि ‘गेम चेन्जर’ परियोजनाका रूपमा लिइएको छ । जसले किसानहरूलाई फलफूल, तरकारी, आलु र गाजरजस्ता उत्पादनहरूलाई ६ महिनासम्म ताजा राख्न मद्दत पुर्याउने छ । यसको निर्माण कार्य सुरु भइसकेको छ भने एक वर्षभित्र सञ्चालनमा ल्याउने तयारी छ । जसको व्यवस्थापकीय नेतृत्व पूर्वबैंकर किरणकुमार श्रेष्ठले गरिरहेका छन् । अहिले किरण श्रेष्ठ पनि उमेश श्रेष्ठको नजिक रहेर काम गरिरहेका छन् । 

मीनबहादुर र उमेशको व्यावसायिक साझेदारी त्यतिमै रोकिएन । उनीहरू थप नयाँ परियोजनामा साझेदारी गर्ने तयारी गरिरहेका छन् । केही दिनअघि मात्रै भैरहवास्थित विशेष आर्थिक क्षेत्रमा गार्मेन्ट उद्योगको शिलान्यास भएको छ । यो परियोजनामा पनि उनीहरूले मिलेर लगानी गरेका छन् । 

साढे एक अर्ब रुपैयाँ लागतको यो परियोजनाले १ हजार २ सय जनालाई रोजगारी दिनेछ । उद्योगले अमेरिका र युरोपमा स्वदेशी उत्पादन निर्यात गर्नेछ । भाटभटेनीका चिफ अपरेटिङ अफिसर (सीओओ) पानु पौडेलले नयाँ परियोजनाले व्यापार वृद्धिसँगै निर्यातमा पनि टेवा पुग्ने बताए । उनका अनुसार यो परियोजनाले देशको आर्थिक विकासमा पनि ठूलो सहयोग गर्नेछ ।

अन्तर्राष्ट्रिय मापदण्डमा तयार गरिने उद्योग आधुनिक मेसिनरी, स्वास्थ्य सुरक्षा र स्वच्छ वातावरणीय प्रणालीको प्रबन्धका साथै एक मेगावाटभन्दा बढीको सौर्य ऊर्जा प्रणाली र ब्याट्री ऊर्जा भण्डारण रहने गरी निर्माण गरिनेछ । परियोजना १० महिनाभित्र सञ्चालनमा आउने उनको भनाइ छ । 

nullभैरहवामा गार्मेन्ट उद्योगको शिलान्यासमा मीनबहादुर गुरुङ र उमेश श्रेष्ठ ।

उनीहरूले ऊर्जा र सौर्य ऊर्जामा पनि साझेदारी गरेका छन् । मीनबहादुरको भाटभटेनी र उमेशको रिन्यु होल्डिङ्स प्रालिबीच भाटभटेनीका विभिन्न सुपरमार्केटहरूको छत तथा खाली स्थानलाई उपयोग गरेर १२.७५० मेगावाट बराबरको सौर्य ऊर्जा उत्पादन तथा सहकार्य गर्ने सम्झौता पनि भएको छ । रिन्यु होल्डिङ्सले सोलार, हाइड्रोलगायतका नेपालको नवीकरणीय ऊर्जाका साथै चार्जिङ स्टेशन र नवीकरणीय ऊर्जासम्बन्धी नवीनतम प्रविधिमा काम गरिरहेको छ । 

उमेशसँग नजिक रहेर काम गरिहेका रिन्यु होल्डिङ्सका प्रबन्ध निर्देशक किरणकुमार श्रेष्ठले उमेश र मीनबहादुरबीच अब ठूल्ठूल्ला परियोजनामा साझेदारी गरेको देखिन सक्ने बताए । 

‘उहाँहरूले कृषि र ऊर्जामा ठूलो सपना देख्नु भएको छ, सम्भवतः अब चाँडै ऊर्जामा नयाँ साझेदारी भएको तपाईंले सुन्न सक्नु हुनेछ,’ उनले भने, ‘अब उहाँहरू दुई जनाबीच हरेक ठूला परियोजनामा साझेदारी हुनेछ ।’

null

पृथक पार्टीका खम्बा

नेपालमा एउटा राजनीतिक दलमा लागेको व्यक्तिले अर्को पार्टीमा आबद्ध व्यक्तिलाई हेय तथा नटेर्ने प्रवृत्तिको विकास भइरहेको छ । यो प्रवृत्ति राजनीतिक दलका सक्रिय कार्यकर्तामा मात्रै होइन, व्यावसायिक तथा अन्य क्षेत्रमा आबद्ध व्यक्तिमा पनि देखिन्छ । तर, मीनबहादुर र उमेशले राजनीतिक आबद्धतालाई चटक्कै बिर्सेर व्यावसायिक साझेदारीलाई सफल बनाउनका लागि एकपछि अर्को परियोजनामा सहकार्य गरिरहेका छन् । 

सँगसँगै अगाडि बढेर आर्थिक संवृद्धि हाासिल गर्न सकिन्छ भन्ने बुझाइका साथ उनीहरूले अब सँगसँगै व्यावसायिक साझेदारी अगाडि बढाउने योजना बनाएका छन् । निजी क्षेत्रले पनि उनीहरूको साझेदारीलाई चासोका साथ हेरेको छ । 

उमेश श्रेष्ठ नेपाली कांग्रेसको कोषाध्यक्ष हुन् । उनले राजनीति सुरु गरेको छोटै समयमा सांसददेखि मन्त्रीसम्म बन्ने अवसर पाए । उनी विसं २०७० सालमा संविधानसभा सदस्य र २०७४ सालमा समानुपातिक सांसद बनेका थिए । त्यसपछि उनी स्वास्थ्य राज्यमन्त्री पनि बने । एक सफल व्यवसायी भएकोले पनि उनलाई नेपाली कांग्रेसले महत्त्वपूर्ण अवसर दिँदै आएको छ । पार्टीलाई चाहिने बेला उनले आर्थिक सहयोग पनि गर्दै आएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाका उनी विश्वासिला पात्रका रुपमा परिचित छन् । 

व्यवसायी मीनबहादुर गुरुङ भने नेकपा एमाले निकट मानिन्छन् । विगतमा उनीमाथि नेकपा माओवादी केन्द्र निकट भनेर चर्चा हुँदै आए पनि केही महिनाअघि नेकपा एमालेलाई पार्टी कार्यालयका लागि १० रोपनी बढी जग्गा दान गरेपछि उनले आफू एमाले निकट भएको सन्देश प्रवाह गरे । उनले एमालेलाई दिएको करिब एक अर्ब रुपैयाँबराबरको दान अहिले विवादमा पनि छ । उनले आफैले पार्टी कार्यालय निर्माण गरिदिने घोषणा गरिसकेका छन् । उनले पार्टीलाई विभिन्न आर्थिक सहयोग पनि गर्दै आएका छन् । 

नेकपा एमालेलाई आर्थिक सहयोग आवश्यक पर्दा मीनबहादुर बलियो खम्बाका रूपमा प्रस्तुत हुन्छन् भने कांग्रेसलाई आर्थिक सहयोग चाहिँदा उमेश अगाडि सर्ने गरेका छन् । उनीहरू दुवै जना राजनीतिक रूपमा फरक-फरक पार्टीमा आबद्ध भए पनि व्यावसायिक रूपमा भने एकैधारमा उभिएका छन् । निजी क्षेत्रले पनि उनीहरूको साझेदारीलाई चासोका साथ हेरेको छ । 

सम्बन्धित सामग्री : 

हजारबाट अर्बौंको यात्रा, सफल उद्यमी उमेशको कथा (भिडियोसहित)
 

Share News